२०८१, ७ बैशाख शुक्रबार

सरकारले एशियाली खेलकुदको स्वर्णपदक विजेतालाई ३२ लाख ५० हजार प्रदान गर्ने

काठमाडाैं : युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९ औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु ३२ लाख ५० हजार प्रदान गर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज आयोजित कार्यक्रममा उनले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कारस्वरुप उक्त रकम प्रदान गर्ने बताए।

मन्त्री गहतराजले उक्त प्रतियोगितामा रजत जित्ने खेलाडीलाई रु १९ लाख ५० हजार र कास्य पदक जित्नेलाई रु १३ लाख प्रदान गर्ने जानकारी दिए।

एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ। यसैगरी मन्त्री गहतराजले उक्त प्रतियोगिताकाे तयारीमा केही कमी नरहने भन्दै खेलाडी प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९ औँ एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने जानकारी दिए।

यसैगरी राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको भन्दै उक्त प्रतियोगिताका लागि सरकारले रु. १० करोड बजेट छुट्याएको बताए।

एशियाली खेलकुद प्रतियोगिताको पहिलो चरणमा ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ। अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण सुरु गर्ने राखेपले जनाएको छ।