२०८३, १७ असार बुधबार

दिल्ली पुगेर प्रचण्डले भने : सन् १९५० को सन्धि पुनरावलोकन गर्न ढिलो गर्नुहुँदैन

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्। 

भारत भ्रमणमा रहेका प्रचण्डले फाउण्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत दुई मुलुकबीच देखिएका समस्या समाधान गरेर जानुपर्ने बताएका हुन्। 

सन् १९५० को सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ। नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पारे। 

नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए। 

नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे। नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे।