२०८३, १७ असार बुधबार

मौरीको चरनका लागि किसानहरुद्वारा वृक्षारोपण

सुर्खेत : मौरीको चरनका लागि किसानहरुले वृक्षारोपण गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० काक्रेविहार क्षेत्रमा मौरीको चरनका लागि मौरीपालक किसानहरुले वृक्षारोपण गरेका हुन ।
मौरीको मह उत्पादनमा सहयोग पुग्ने उद्देश्यसहित चिउरी, कल्की, लिफ्टिस लगायत प्रजातिका करिव ३०० सय बोट विरुबाहरु रोपिएको मौरीपालक किसान गोविन्द तिमिल्सेनाले बताए ।
मौरीलाई मह संकलनमा आवश्यक हुने विभिन्न किसिमका फूल फुल्ने विरुवाहरु मासिदै गएकोले मौरीपालन व्यवसाय नै संकटमा पर्ने देखिएको हुँदा केही मात्रामा भएपनि विरुवाहरु रोपिएको तिमिल्सेनाले जानकारी दिए । ‘जैविक विविधता व्यवस्थापन र प्राकृतिक सौन्दर्यको लागी यस्ता फुल फुल्ने विरुवाहरुको संरक्षण अपरिहार्य रहेको छ ।’ उनले भने,‘वीरेन्द्रनगर नगर पालिकामा मात्रै हाल करिव एक हजारभन्दा बढी मौरीका घार रहेको छन ।’
मौरी चरिचरणको क्षेत्र अभावलाई यस वृक्षारोपणले केही मात्रामा सघाउ पुग्ने मौरीपालक किसानहरुको अपेक्षा रहेको मौरीपालक किसान लिलाराम ढकालको बताए ।
गुणस्तरिय मह उत्पादन गरी यस व्यवसायलाई दिगो बनाउन प्रदेश सरकारले किसानहरुलाई नीतिगत र कार्यगत सहयोग गर्नुपर्ने भनि मौरी पालक किसान चेतन प्रसाद चालिसेले बताए । ‘नियमित मह सेवन दीर्घ जिवन र शारिरिक सौन्दर्यताको लागी उपयोगी मानिन्छ ।’ उनले भने,‘मानव स्वास्थ्य र आयुर्वेदिक औषधीमा समेत प्रयोग हुने महको गुणस्तरिय रुपमा उत्पादन गरि कर्णाली प्रदेशलाई महमा आत्मनिर्भर बनाइ किसानको आय आर्जन वृदि गर्नको साथै यस व्यवसायमा थप रोजगारी सृजना गर्नको लागि सम्वद्घ सवै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको छ ।’