निगालाको डोका र नाङ्लो बेचेर मासिक रु.२५ हजार आम्दानी
सुर्खेत : कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी(चंचले) निगालाको डोका र नाङ्ला बेचेर मासिक २५ हजार कमाउने गरेका छन् । जंगलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बेच्दा मासिक २५ हजार कमाउने गर्ने गरेका हुन् ।
दर्जीले गाउँमा आफुले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरीद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखमा बिक्रि गरेर मासिक २५ हजारभन्दा कमाउने गरेका छन् ।
जंगलमा त्यत्तिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाई हुने गरेको दर्जीले बताए । ‘नाङ्लोको पाँचदेखि छ सय रुपैयाँसम्म बिक्रि गर्ने गरेको छु ।’ उनले भने,‘गाउँघरमा यसको माग पनि निकै छ ।’
भारी बोक्न मिल्ने डोका एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपैयासम्म घाँस दाउरा गर्ने डोका आठदेखि नौ सय रुपैयाँ मूल्यमा बिक्रि हुने गरेको दर्जीको भनाई रहेको छ । ‘पहिलो आफन्तहरुलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौं ।’ उनले भने,‘अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।’
स्थानीय बस्तुभाउ बिक्रि वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफुलाई बिक्रि वितरणमा सजिलो हुने उनको भनाई रहेको छ । ‘स्थानीयस्तरमा उत्पादन भएको बस्तुभाउ बिक्रि गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन् ।’ उनले भने,‘पिठ्यूमा बोकेर गाउँगाउँमा डुलेर बिक्रि गर्ने गरेको छु ।’
स्थानीयस्तरमा उत्पादन हुने बस्तु डोका, नाङ्लो तथा अन्य बस्तुहरुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्रि गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको दर्जीको माग रहेको छ ।
