२०८१, २७ चैत्र बिहीबार

नेपालमा श्रीलंकाका त्रास

श्रीलंका एकाएक यस्तो नाजुक अवस्थामा आइपुगेको होइन । त्यहाँको सरकार बेलैमा नियन्त्रण गर्नतिर नलाग्दा र मोजमस्तीमा रमाउँदा जनताले एकदम नराम्ररी दुःख पाए । नेपाल पनि त्यही बाटोमा हिँडिरहेको छ । सरकारी खर्च एकसुको पनि कम भएको छैन । झन्झन् बढिरहेको छ । तलबभत्ता, सेवासुविधा लिने कार्यको अन्त्य हुन सकेको छैन । कुनै पनि राजनीतिक दललाई नेपालको माया छैन । पैसा र सेवासुविधा भए पुग्ने रहेछ । देश सकिए पनि नेताहरु भ्रष्टाचार गर्न छाड्दैनन् । जनताले कर तिर्दैनन्, विदेशीले ऋण दिँदैन् अनि भ्रष्टाचार गर्न पाइँदैन भनेर सरकारले ढाकछोप गरिरहेको छ । बजारमा अहिले हरेक जनता नेपालको अर्थतन्त्र डुबिसकेको छ भनिरहेका भेटिन्छन् । यदि यो यथार्थ होइन भने सरकारले स्पष्टीकरण त दिनुपर्छ । भुरादेखि बूढासम्म सबैले नेपाल श्रीलंकाकै अवस्थामा आउँछ भनिरहँदा सही के हो, सरकारी पक्षले त प्रस्ट पार्न आवश्यक छ ।
सरकारले अझै पनि ख्यालख्याल गर्ने हो भने यहाँ ठूलो दुर्घटना हुन्छ । भोलि नेपालको नामोनिसान नरहने अवस्थाबाट बचाउन बेलैमा ध्यान पु¥याऔं । नेपाल नसिद्धियोस् भनेर जनताले यति चासो देखाउँदा सरकार किन मौन छ ? कमाइ खाने भाँडो बन्द हुन्छ, देश छोडेर भाग्नुपर्छ भनेर सरकार डराएको हो ? नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो नहोस् भनेर सञ्चारमाध्यमले घचघच्याउँदा पनि सरकारी पक्षले मतलब गरेको छैन ।
पेट्रोलियम पदार्थ खरिद गर्न नसकेर नेपाल आयल निगमले हात उठाइसकेको छ । उता, पेट्रोल र डिजेल हाल्न नसकेर सवारीसाधन नै थन्क्याउनुपर्ने भएको छ । आयस्रोत छैन, ग्यासको भाउ पनि बढेको छ । ग्यास जोगाउनका लागि काँचोकाँचै खाने बेला भइसकेको छ । खर्च कटौती गर्नतिर सबैजसो लागिपरेका छन् । खानेतेलको भाउ पनि निकै बढेको छ । आम्दानी हुने त खालान् तर नहुनेले तरकारीमा तेल नै हाल्न छोडिदिएका छन् । नेपालको अर्थतन्त्र धराशायी हुनुमा धेरै कारण छन् ।