सरकार! कहिलेसम्म तुइनको यात्रा ? : हुम्लीको प्रश्न
सुर्खेत : हुम्लाको अदानचुली गाउँपालिकाका बासिन्दा पाँच वर्षदेखि तुइनकै भरमा कर्णाली नदी वारपार गर्न बाध्य छन्।
आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीय बासिन्दालाई तुइनकै भरमा दैनिक आवतजावत गर्नुपरेको अदानचुली गाउँपालिका–१ का जुनराज महतराले बताए। जोखिममा राखेर कर्णालीमा तुइन तर्दै आएको र वर्षौँदेखि झोलुङ्गे पुल माग गरे पनि सुनुवाइ भएको छैन। हुम्ला र मुगुका स्थानीय बासिन्दा दोमुखमा तुइन निर्माण गरेर वारपार गर्न बाध्य भएको उनको भनाइ छ।
वर्षामा कर्णाली नदीमा पानीको सतह बढ्दा तुइन छुने गर्छ। यस्ता वेला तुइन तर्न ज्यादै डरलाग्दो हुने उनको अनुभव छ। तुइनमा राखिएको डब्बा जालीबाट बनाइएको हुन्छ। डोरी चुँडिएर दुर्घटना हुने हो कि भन्ने मनमा त्रास हुने गरेको स्थानीय बासिन्दा बताउँछन्।
तुइनबाट पैदल यात्रुु र दैनिक उपभोग्य सामग्री ढुवानी हुँदै आएको छ। अदानचुलीका परबहादुर बुढाले दोमुखमा पुल निर्माणका लागि गाउँपालिकादेखि सबै निकायमा माग गरिए पनि कतैबाट सुनुवाइ नभएको पीडा सुनाए। तीन महिनाअघि तुइनमा सामान ढुवानी गर्ने क्रममा जाली चुँडिएर सामान नदीमा खसेको बताए।
यहाँबाट दैनिक ४० जनासम्म यात्रुुले तुुइनकै सहारामा नदी वारपार गर्छन्। अदानचुली गाउँपालिकाले गाउँपालिकाको बजेटबाट पुल बनाउन स्रोतको अभाव रहेको जनाएको छ। दोमुख मात्र होइन कर्णाली नदीमा ६ भन्दा बढी ठाउँमा यसरी तुइन तरेर पैदलयात्रुले नदी पार गर्नुपर्ने बाध्यता छ। सरकारले तुइन हटाउने घोषणा गरे पनि अहिलेसम्म हुम्लाका लागि लागू भएको छैन।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला समेत हुम्ला हो। मुख्यमन्त्री हुम्ला जाँदा हेलिकप्टर र जहाजमा जाने भएकाले तुइनको पीडा भोग्नु नपरेको भन्दै स्थानीयले व्यङ्ग्य गरेका छन्। तुइन हटाउन आग्रह गदै मुख्यमन्त्री शाहीसँग ज्ञापनपत्र समेत बुझाएको स्थानीयको भनाइ छ तर मागको सम्बोधन भएको छैन। संघ, प्रदेश र स्थानीय तहले बजेट ल्याए पनि तुइन हटाउने बजेट कसैको पनि नआएको उनीहरूको तर्क छ।
