२०८३, १७ असार बुधबार

उद्योगमा सबैभन्दा लाभदायक खनिजजन्य

सुर्खेत : नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै लाभदायक क्षेत्र खनिजजन्य रहेको पाइएको छ । केन्द्रीय तथ्यांकले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को तथ्यांकअनुसार खनिजजन्य उद्योग किफायति देखिएका छन् ।
कुनै पनि वस्तुको उत्पादनमा लागतको हिस्साको अनुपात न्यून खनिजमा देखिएको छ ।
सर्वेक्षणको नतिजाअनुसार खनिज क्षेत्रमा कूल उत्पादनमा लागतको हिस्सा २७ प्रतिशत रहेको छ । अर्थात् २७ रुपैयाँ लगानी गर्दा सय रुपैयाँको वस्तु उत्पादन हुने देखिएको छ ।
सर्वेक्षणमा चारवटा उद्योगका वर्गीकरण समेटिएका छन् । उत्पादनमूलक, खनिज, ग्यास बिजुली र पानी आपूर्ति, फोहर व्यवस्थापन रहेका छन् ।
सय रुपैयाँको उत्पादनका लागि धेरै लागत लाग्ने क्षेत्र भने उत्पादनमूलक उद्योग छ । उत्पादनमूलक उद्योगमा ७२ रुपैयाँ लगानी आवश्यक पर्छ । बिजुली उत्पादनमा ६८ र पानी आपूर्तिमा ५४ रुपैयाँको लागत छ ।
सर्वेक्षणअनुसार ६० हजार १८५ उद्योग प्रतिष्ठान छन् । यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति; ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठानहरू रहेका छन् ।
सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा संलग्न रहेका व्यक्तिहरूको संख्या ४ लाख ९१ हजार २२७ छन् । यसमा खानी तथा उत्खनन क्षेत्रमा ६ हजार ४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६६, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा १८ हजार १८५ जनाले रोजगारी पाएका छन् ।
यस्ता उद्योगले बर्सेनि कर्मचारीको तलब भत्ता तथा अन्य सुविधामा १ खर्ब ७ अर्ब ८९ करोड भुक्तानी गर्दै आएका छन् । यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगले गर्छन् । यो क्षेत्रबाट वर्षमा ९५ अर्ब ७७ करोड भुक्तानी हुन्छ ।
नेपालका उद्योगहरूले बर्सेनि मूल्यअभिवृद्धि प्रतिशत भने ४१ प्रतिशत रहेको छ । लागतको ४१ प्रतिशत मूल्यअभिवृद्धि गर्दै आएका छन् । सर्वेक्षणको वर्ष उद्योगहरूले ८ खर्ब ४६ अर्ब लगानी गरेर १२ खर्ब १ अर्बको उत्पादन गरेका थिए । उद्योग क्षेत्रबाट सो वर्ष ३ खर्ब ५० अर्बको मूल्यअभिवृद्धि भएको थियो ।
उद्योगमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगको मूल्यअभिवृद्धि हुने गरेको छ ।
उद्योगहरूमा नेपालमा सबैभन्दा धेरै खाद्यान्न उद्योगको मूल्यअभिवृद्धि धेरै रहेको छ । सर्वेक्षणको तथ्यांकअनुसार सर्वेक्षण वर्ष खाद्यान्न उद्योगबाट ७१ अर्ब ९० करोडको मूल्यअभिवृद्धि भएको थियो । दोस्रोमा गैरधातुजन्य उत्पादन भएको थियो ।