कर्णालीमा पाँच जिल्लाका कारागार जीर्ण
सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा समस्या उत्पन्न भएको छ।
सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका भवनको अनुगमन गर्दा कारागारहरूको भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको हो। सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा रहेको छ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नुपरेका समस्या बुझ्न म कारागारको अनुगमनमा हिँडेको थिए, प्रतिवेदन तयार समेत गर्न लागेको छु। कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोचिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्नुपरेको पाएको छु।’
मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए । त्यस्तै जिल्लाका हिरासत भवन समेत जीर्ण भएका छन्। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार यहाँको हिरासत अवस्था समेत दयनीय रहेको छ।
