२०७९, ९ आश्विन आईतवार

सुर्खेत र जाजरकोटमा क्षमताभन्दा बढी कैदीबन्दी

सुर्खेत :  सुर्खेत र जाजरकोटका कारागारमा क्षमताभन्दा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।
सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।
अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागूऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । ‘पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन् ।’, उनले भने, ‘अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ कैदीबन्दी छन् ।’
कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताए । ‘अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ ।’, उनले भने, ‘एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।’
जाजरकोटमा बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ । सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो ।
प्रन्ध पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् ।
कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताए ।
संख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ । कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो ।
जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरु मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताए। उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेकोले यसको समाधानका लागि पहल जारी रहेको छ बताए ।
सबैले काम गर्छु भन्ने तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो ।