सल्यानको जयतपानीमा स्याउ पाकेर राताम्मे
सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीको डाँडा स्याउ पाकेर रंगिएको छ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि जयतपानीको डाँडामा लगाइएका स्याउका रुखमा हाँगै भाँचिनेगरी लटरम्म स्याउ फलेका छन्। स्याउ पाकेपछि रुख नै राताम्मे देखिएका छन्।
स्याउ पाकेसँगै बारीबाटै स्याउ किन्नेको भीड लाग्न थालेको छ। दैनिक एक सय देखि दुई सय जनासम्म स्याउ बगैँचामा घुम्न आउने गरेको शिशिर थापाले बताए।
उनले भने, ‘नयाँ जातको स्याउ भएकाले हेर्न पनि आउँछन् स्वाद लिन पनि आउँछन्।’
विगत ५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आएका उनले स्याउको बगैँचाकै कारण जयतपानी पर्यटकीय क्षेत्रका रुपमा समेत विकास हुँदै आइरहेको बताए।
बजारीकरणको समस्या भन्दा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई नै पुर्याउन गाह्रो भइरहेको उनको भनाई छ।
स्याउ उत्पादनको राम्रो क्षेत्र बोकेको स्थान भएकाले सरोकारवालाले पनि ध्यान दिन सके यसको विस्तार गर्न सहज हुने लोकेन्द्र बुढाथोकीले बताए। स्याउको बगैँचा हेर्न स्थानीय बजार, खलंगा, श्रीनगर, बाबियाचौर, सल्लीबजारबाट आउने गरेको उनकाे भनाई छ। स्याउको बगैँचा हेर्न आएका मानिसहरुले बोटबाटै किनेर लिने गरेको उनी बताउँछन्।
स्याउ खेतीका लागि जयतपानी, गुराँसे, चिनाली लगायतका क्षेत्र राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। जिल्लामा ४२ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए। गत वर्ष जिल्लामा ४ सय १० मेट्रिकटन स्याउ उत्पादन भएको उनकाे भनाई छ।