२०७९, ९ आश्विन आईतवार

२० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन गर्दे कर्णाली

सुर्खेत : कर्णाली प्रदेशले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित आयोजनाको स्क्रिनिङ ¥यांकिङ गरी निर्माण अगाडि बढाउन लागेको बताए । उनले निर्माण चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी सुरु भएको जानकारी दिए ।
भेरी, तिला, जेवा, नलगाड,ब कर्णाली लगायत एक दर्जन साना खोला रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि विभिन्न स्थानमा अध्ययन चलिरहेको छ । मन्त्रालयले पहिलो चरणमा डोल्पामा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा लगानीको काम सुरु गरेको छ । त्यस्तै दैलेखको रारा जलविद्युत आयोजना शेयर लगानी आह्वान गर्न लागिएको छ ।
मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले तिला र जेवा नदीमा जलविद्युत आयोजनामा समेत लगानी गर्न लागेको बताए । जाजरकोटको ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ । नलगाड जलविद्युत आयोजनासँग ताक्सुगाड जलविद्युत आयोजना कर्णाली प्रदेश सरकारले बनाउनका लागि माग गरिएको मन्त्री सिंहले जानकारी दिए ।
सात मेगावाट विद्युत उत्पादन क्षमता रहेको ताक्सुगाड जाजरकोट नलगाड नगरपालिका १० मा पर्छ । विद्युत विकास ऐन निर्माण गरी मन्त्रिपरिषदमा पेश गर्न लागिएको छ । विद्युत विकास ऐनमा समेत २० मेगावाटसम्मका जलविद्युत आयोजना प्रदेशले बनाउने भन्ने उल्लेख छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको जगदुल्लामा शेयर लगानी आह्वान गरी छिटो परिणाम निकाल्नेगरी काम गर्नका लागि जलस्रोत तथा उर्जा विकास मन्त्रालय तिव्र रूपमा लागेको मन्त्री सिंहको भनाइ छ । आयोजना स्थलमा सडक लिनका लागि भएको बाधा व्यवधान हटाउन मंगलबार तीनवटा मन्त्रालयबीच छलफल समेत भएको छ ।
छलफलले त्रिवेणीबाट आयोजना निर्माणस्थलसम्म जानका लागि बाटोमा लागेको चट्टान फुटाउन आवश्यक पर्ने सबै खालका समस्या हल गर्ने सहमति भएको छ । संविधानले दिएको व्यवस्था अनुसार प्रदेश सरकारले कर्णालीमा सम्भाव्यता अध्ययनलाई तीव्र गतिमा पुर्याउने लक्ष्य रहेको छ । सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
त्यस्तै पाँच करोड रारा जलविद्युत आयोजना, ११ करोड जगदुल्ला जलविद्युत आयोजना, ताक्सुगाडका लागि एक करोड ५० लाख तथा तिला र जेवामा सम्भाव्यता अध्ययनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री सिंहले कर्णाली क्षेत्रमा रहेका जलविद्युत आयोजनाका लागि ७८ करोड ६० लाख रकम निनियोजन गरेको बताए ।
तत्काल विद्युत आयोजना निर्माण गर्न नसकिने ठाउँमा नविकरणीय उर्जा कार्यक्रममार्फत जनताको घर दैलोमा उज्योलो दिने अभियानमा मन्त्रालय जुटेको उनले बताए । उनका अनुसार पाँच करोड रुपैयाँमा नविकरणीय उर्जा उपलब्ध गराउन लागिएको छ ।