२०८३, १७ असार बुधबार

कालीकोटको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने

सुर्खेत : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिता दिएको हो ।
नीति तथा कार्यक्रम सार्बजानिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उप–मेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण, जनआन्दोलन, जनयुद्धका सहिद, घाइते, अपाङ्गता भएका, द्धन्द्ध पीडित, विपन्न दलित परिवारका छात्रछात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि ‘मेयर छात्रवृत्ति कोष स्थापना’, रास्कोट बहुमूखी क्याम्पस सञ्चालन गर्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
रास्कोट नगरपालिकाको पहिचान सहित लोगो कायम गरिने, वातावरण संरक्षणका लागि रास्कोट नगरपालिकको लोगो सहितको झटपट झोला वितरण गरिने, रास्कोट कोशेली घर स्थापना, एक घर एक धारा कार्यक्रमद्धारा स्वच्छ खानेपानीको पहुँचमा विस्तार, पर्यटन प्रर्वधनका लागि होमस्टे स्थापना, नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रमको निरन्तरता, रास्कोट नगर अस्पतालबाट विषेशज्ञ सेवा प्रवाह गर्ने गरि बजेट ल्याएको प्रमुख शाहीको भनाई छ ।
आरसिपी बजारको विस्तृत सर्वेक्षण गरी व्यवस्थापन गरिने, जल, जंगल, जमिन र जनश्रमको परिचालन गर्न नीति अवलम्वन गरिने, पूर्वाधार विकासकालागि भौतिक संरचनाहरुको स्तरोन्ती गरिने, बजेटको उद्देश्य हाँसिल गर्न प्राथमिकता कायम गरी संघ, कर्णाली प्रदेश निजि क्षेत्रसंग साझेदारीका आधारमा सहकार्य गरिने, कृषि आधुनिकिकरण, व्यवसायिकरण र हाइटेक नर्सरीलाई सञ्चालनमा ल्याउने तयारी रहेको उपप्रमुख मनीराज बरालले बताए ।