२०८१, ७ बैशाख शुक्रबार

लिफ्टिङबाट रुकुम पश्चिमका १४ सयभन्दा बढीलाई खानेपानी

सुर्खेत : लिफ्टिङ प्रविधिबाट अधिकांश ठाउँमा पिउने पानी तथा सिँचाइ गर्न पाएपछि रुकुम पश्चिमका सर्वसाधारणहरु खुसी भएका छन्। जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप–लिफ्टिङ परियोजनाबाट पानी उपलब्ध भएपछि स्थानीयबासीहरु खुसी भएका हुन्।

झन्डै डेढ करोड खर्चेर सोलार प्रविधिमा निर्माण गरिएको कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजनाको लिफ्टिङ योजनाले यहाँका सर्वसाधारणहरूमा खुसी छाएको छ।

पानी बोकेर दुख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी–१४ नाउलीकी रामसरी पुनले बताइन्। विद्युत पुगेको ठाउँमा विद्युतबाट र नपुगेको ठाउँमा सौर्य उर्जा मार्फत लिफ्टिङ गरी पानी ल्याइएपछि पानीका लागि सहज भएको हो। १२० घरधुरीले आँगनमै पानी आएर उपभोग गर्न पाएपछि आफूहरु खुसी भएको बरानेटीका कर्णबहादुर खड्काले बताए।

उनले भने, ‘लिफ्टिङ योजनाले धेरै राम्रो काम गरेको छ, अब घरमै पानी आयो, बेखुस हुनुपर्ने कुरै भएन,’ हामीलाई खोज्दै पानी आएको जस्तो भएको छ। त्रिवेणी, सानी भेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा लिफ्टिङका धेरै योजना बनाइएको छ। जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको अगुवाइमा अन्य तहको सहयोगमा अधिकांश योजनाहरु निर्माण भएका छन्।

त्रिवेणी गाउँपालिकामा दोमिल्ला टोट्के, थारमारे राजकोट, कालाखोला भेरीपोखरा, सिम्तारे खोला, बल्लेजुरी, जुगेपानी, मूलपानी, कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा र सानीभेरी गाउँपालिकामा विप्पेलेक र पोखरी लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन्।

मेलचौर, अध्याचौर बुकीचौर र किटकिटे–बुगेरी लिफ्ट खानेपानी निर्माण क्रममा रहेको रुकुम पश्चिमको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयले जनाएको छ। त्यस्तै चौरजहारी नगरपालिकामा दहखोला–झापे, लामीरह–सुर्कीमारे योजना तयार भएको छ।

सिस्नेरी–पातिहाल्ना, तिजुखोला–प्रियाटाकुरी र गरेधुरा लिफ्ट खानेपानी योजना, जोगिनेटाखोला–डलसिङे, ठूलाखोला–टाकुरा आयोजना, तिमितले लिफ्ट आयोजना र  लिउरेबारी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेक छन्।

२१ करोड ६२ लाख लागतमा ठूलीभेरी नदीबाट पानी लिफ्ट गरेर चौरजहारी उपत्यकामा पानी लिफ्ट प्रविधिमार्फत १ देखि ४ नम्बर वडाको झन्डै १ हजार ४ सय उपभोक्तालाई पानी पुर्‍याएर चौरजहारी सुक्खा खानेपानी आयोजना सम्पन्न भएको छ। चौरजहारी–३ का कृष्ण बटालाका अनुसार भेरीबाट तानिएको पानी माथि डाँडाबाट वितरण गरिएपछि पानी बोक्ने दिनहरू अन्त्य भएको छ।