२०८१, ८ बैशाख शनिबार

स्थानीय तहका प्राथमिकता

स्थानीय तहका सरकार नागरिकका नजिकका सरकार हुन् । स्थानीय तहको विद्यमान स्रोत साधन, जनशक्ति, अत्यधिक लागत र एकल जोखिम जस्ता कारणले बढ्दो विकेन्द्रीकरणका माग सम्बोधन गर्न सक्ने अवस्था देखिँदैन । सेवा प्रवाहमा प्रभावकारिता र गुणस्तर, दिगो विकास तथा समान समस्याका लागि पालिकाहरू पारस्परिक लाभका क्षेत्र, समान सवाल, बृहत् पूर्वाधार, विपत् तथा वातावरण संरक्षणसँग सम्बन्धित योजना तथा परियोजनाका लागि पालिकाहरू आफ्नो परिधिबाट बाहिर निस्किएर आसपासका पालिकासँग समन्वय र सहकार्य गर्नु उचित विकल्प हो ।
अन्तरपालिका सहकार्य अवधारणाको अवलम्बनले सामूहिक लगानीलाई प्रोत्साहन गर्ने हुँदा पुँजी निर्माणमा सघाउ पु–याउनुका साथै लागत घटाउनसमेत मद्दत गर्छ । साधन स्रोत र पूर्वाधारमा गरिने दोहोरो लागत र कैयौँ गुणा व्ययभार घट्नेछ । आर्थिक तथा उद्यमशीलताका क्षेत्रमा गरिने लगानी तथा क्रियाकलापबाट पालिकाहरूको आन्तरिक आयमा वृद्धि हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार आमन्त्रण गर्दै लगानी भिœयाउन सकिने अवस्थाको सिर्जना हुनेछ । अन्तरपालिका सहकार्यका क्षेत्रमा फोहरमैला व्यवस्थापन, पर्यटन विकास, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, विपत्को पूर्वतयारी तथा व्यवस्थापन, यातायात प्रणाली, प्रदूषण नियन्त्रण, सुरक्षा, सूचना प्रविधि पूर्वाधार, अध्ययन अनुसन्धान, एकल अधिकारका विषयमा निर्माण गर्नुपर्ने कानुन, नीति रणनीति जस्ता सफ्टवेयर कार्यक्रमदेखि ठूला पूर्वाधार, भौतिक निर्माणका उपकरण, औजार तथा साधन स्रोतहरूको प्रयोगमा समेत सहकार्य गर्दै सामूहिक लगानीमा गर्न सके थोरै लगानी तथा साधन स्रोतबाट धेरै फाइदा लिन सकिन्छ ।