२०८१, १५ बैशाख शनिबार

कर्णालीका केही पालिका बनाए यस्ता योजना

सुर्खेत : कर्णालीका धेरै जसो स्थानीय तह नीति कार्यक्रम ल्याएका छन् । स्थानीय तहले विकास निर्माणसँगै केही फरक खाले कार्यक्रम अगाडी सारेका छन् । दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने कार्यक्रम अगाडी सारेको छ भने सुर्खेतको वीरेन्द्रन नगरपालिकाले एरीचोक र मंगलगढी चोकमा आकाशे पुल बनाउने योजना अगाडी सारेको छ ।
बजेटमार्फत हुम्ला अदानचुली गाउँपालिकाले ल्यायो एक घर एक धारा
हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले एक घर एक धाराको नीति बजेट तथा कार्यक्रममार्फत ल्याएको छ ।
बजेट तथा कार्यक्रमले सधै खानेपानीको समस्या हुने साविकको श्रीनगर गाविस र हालको गाउँपालिका केन्द्रलाई विशेष ध्यान दिँदै एक घर एक धाराको नीति लिएर त्यस अनुसारको खोनपानीको दिगो समस्या समधान गर्न योजना निर्माण कार्य अगाडि बढाइने भएको छ ।
त्यसैगरी, बजेटले गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई प्राथामिकतामा राखेको छ ।
नारायण नगरले एकल पुरुषलाई भत्ता दिन
दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए ।
आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ । सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शर्माले स्थानीय स्तरमा सञ्चालन हुने विकासे काममा डोजरको प्रयोग कम गरी युवाहरूलाई रोजगारी दिने बताए । ‘श्रम बैक ऐन निर्माण भएको छ, आगामी आर्थीक वर्षदेखि श्रम बैङ्कको स्थापना गरी बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गछौँ’, नगर प्रमुख शर्माले भने ।
वीरेन्द्रनगर दुई ठाउँमा आकाशे पुल निर्माण हुने
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरि आकाशे पूलको निर्माण गरिने भएको छ ।
यस्तै, नगरका फुटपाथ, साईकललेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग, ट्राफिक लाइनिङ्गसमेतको डिजाईन गरि नमुना सडक निर्माण गर्ने कार्यको थालनी, उपत्यकाको खानेपानी समस्यालाई दीगो समाधान गर्न भेरीको पानी लिफ्टीङ्ग आयोजना अगाडि बढाउन संघिय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संगको सहकार्य र आर्थिक वर्षदेखि पहूँच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरूको शुरूआत गरिने छ ।