२०८०, १५ चैत्र बिहीबार

भेरीगंगाको डुमकोटमा पहिलो दलित संग्रहालय बन्दै

सुर्खेत : भेरीगंगा नगरपालिका– ७ र ८ को सिमाना रहेको ‘डुमकोट’ डाँडामा दलित संग्रहालय बन्न थालेको छ । सात शताब्दीअघि उक्त क्षेत्रमा दलित समुदायले राज्य चलाएको हुँदा डुमकोट डाँडालाई संग्रहालय बनाउन थालिएको हो ।
डुमकोटी राजाले राज्य गरेको स्थानलाई अहिले दलितहरूबारे अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय केन्द्रको रूपमा निर्माण थालिएको डुमकोट पर्यटन विकास समितिका सचिव टेकेन्द्र बस्यालले जानकारी दिए ।
‘विक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडामा हामीले दलित संग्रहालय बनाउन थालेका छौं,’ उनले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान र पर्यटकीय केन्द्रका रूपमा विकास गर्न असारभित्र संग्रहालय बन्दैछ ।’
सचिव बस्यालका अनुसार चार करोड ४५ लाख रुपैयाँको लागतमा बन्न लागेको संग्रहालयमा ७० प्रतिशत संघीय सरकार र बाँकी स्थानीय सरकारको लगानी रहनेछ ।
तीन तलामा बन्ने संग्रहालयका जम्मा ४२ वटा कोठा हुनेछन् ।
डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ । संग्रहालयसँगै दलित समुदायको परम्परागत सीप, भेषभूषाको संरक्षण हुने दलित अगुवाहरूको भनाइ छ ।
विक्रम संवत् १३७० मा नजिकैका गुर्भाकोटी राजाको आक्रमणपछि भागेका डुमकोटीहरू रुकुमको अर्माखोलामा बसाइँ सरेको बस्यालले बताए ।
यद्यपि, अहिले पनि डुमकोट डाँडा र त्यस वरपर दलित समुदायको मात्रै बसोबास छ । असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने यो संग्रहालय नेपालकै पहिलो दलित समुदायको संग्रहालय हुने पनि दावी गरिएको छ ।
संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेक्का, डाला, गाबु, छालाका जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने छन् ।