२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा पेट्रोल अभाव

सुर्खेत : सुर्खेतमा शनिबारदेखि पेट्रोल अभाव भएको छ । सुर्खेतका पाँच वटाा आयल स्टोरमा सोमबार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझैँ सहज बनेको छैन । वीरेन्द्रनगरका शंकर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको छ ।
यहाँका पम्पमा बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ ।
इण्डियन आयल कर्पोरेशनले नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्यांकरलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।
नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दीपकप्रसाद घिमिरेले इन्धन आयात सहज बन्दै गएको बताए । ‘भन्सार प्रक्रियाका कारण रोकिएका ट्यांकर म्यानुअल प्रणालीबाट छुट्ने क्रम शुरु भएको छ’, उनले भने, ‘बाँकी ट्यांकर पनि छुटाउने प्रक्रिया चलिरहेको छ, नेपालका लागि छुटेका ट्यांकरमध्ये ६० हजार लिटर पेट्रोल मङ्गलबार अपराह्नसम्म सुर्खेत पठाउने तयारीमा छौँ ।’
भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्र्पोट एक्सर्पोट कोड’अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो । सोमबार साँझ ९ बजे म्यानुअल प्रणालीबाट रुपैडिया भन्सारमार्फत ५० हजार लिटर पेट्रोल, एक लाख २० हजार लिटर डिजेल र ८० हजार लिटर हवाई इन्धन आयात भएको थियो ।
भारतले नयाँ नियम लागु गरेका कारणले कर्णालीमा १० वटै जिल्लामा इन्धनको अभाव भएको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेले कर्णालीका जिल्लामा इन्धनको आपुर्ति गर्ने गरेको छ । कर्णालीका सबै जिल्लामा इन्धनको अभाव रहेको छ । जुम्लामा इन्धनको अभाव हुँदा सवारी साधन चल्न नसकेको स्थानीय रामबहादुर शाहीले जानकारी दिए । ‘कुनै पनि पम्पमा पेट्रोल छैन् ।’ उनले भने,‘आफुसँग भएको सवारी साधन थन्काएर राखेको छु ।’