२०८१, १ कार्तिक बिहीबार

मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यु

बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ।

 

राप्ती पुल नजिकै नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ वर्षीय त्रिबल शाही र २१ वर्षीय लेखराज छत्यालको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

हिजो अपराह्न करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकै नुहाउने क्रममा दुवै जना बेपत्ता भएका थिए। नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। नेपालगञ्ज १ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरू मलामी गएका थिए। साँझ अबेरसम्म पनि घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउमा उनीहरूले लगाएको कपडा  र मोबाइल फेला परेपछि उनीहरू नदीमा डुबेको आंशका गरिएको थियो ।

राती अबेरसम्म खोजी गर्दा फेला नपरेपछि आज बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा शव फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ। मृतक युवकहरू नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए। दुवैको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ।