२०८१, ७ बैशाख शुक्रबार

प्रदेश आयुर्वेद औषधालय, सेवा लिने बढेपनि सेवा सुर्खेत मात्रै सिमित

सुर्खेत । पछिल्ला बर्षहरुमा प्रदेश आयुर्वेद औषधालय वीरेन्द्रनगर, सुर्खेतमा सेवा लिनेहरुको संख्या बढ्दै गएको पाइएको छ । अन्य आर्थिक बर्षहरुको तुलनामा पछिल्ला तिन आर्थिक बर्षहरुमा सेवा लिनेको संख्या बढेको पाइएको छ । औषधालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा २२ हजार ९२ जनाले सेवा लिएका छन् भने ७०७६÷०७७ मा २७ हजार ३ सय ५५ र आर्थिक बर्ष २०७७÷०७८ मा ३० हजार ४ सय ३६ जनाले सेवा लिएका छन् । चालु आर्थिक बर्षमा त्यो संख्या बढ्दै जाने औषधालयले जनाएको छ ।

सेवा लिने मध्ये धेरैजसो साधारण उपचार ओपिडि सेवा लिने छन्, यस्तै स्तनपायी आमा, जेष्ठ नागरिक, निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट धेरैजसोले सेवा लिएका छन् । औषधालयले अमलकी चुर्ण, अश्वगन्धा चुर्ण, अविपतिकर चुर्ण, हिंगवाष्टक चूर्ण, अमृत चिया जस्ता विभिन्न औषधी निर्माण गरेर वितरण गरिएको औषधालयका प्रमुख डा.शंकरप्रसार रिजालले बताए ।

सुर्खेतमा सिमित औषधालय

२०७६ भदौँमा प्रदेश आयुर्वेद औषधालयको रुपमा विकास गरिए पनि औषधालयको सेवा सुर्खेतमा मात्र सिमित रहेको छ । औषधालयका प्रमुख रिजालले प्रदेश आयुर्वेद भए पनि १० वटै जिल्लाहरुमो सेवा दिन नसकेको बताए । ‘प्रदेशको अधिकार भएपनि हामीले १० वटै जिल्लामा सेवा दिन सकेका छैनौँ,’ उनले भने, ‘दरबन्दी अनुसारको प¥याप्त दरबन्दी छैन । वृद्धि विकासको लागि सम्बन्धित निकायबाट चासो नदिएको देखिन्छ ।’

कुल एक सय ६ जनाको दरबन्दी रहेको प्रदेश आयुर्वेद औषधालयलमा हाल ७७ जनाको दरबन्दी पूर्ती भएको छ भने बाँकी दरबन्दी रिक्त रहेको औषधालयले जानकारी दिए । सुर्खेतमा औषधालयले ओपीडि सेवा, ४४ प्रकारका आयुर्वेद औषधी निशुल्क सेवा, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा लगायतका थुप्रै सेवाहरु दिँदै आएको छ । प्रदेश सरकार मातहत आए पनि प्रदेशभर सेवा बिस्तार गर्नुपर्ने भए पछि औषधालय नाममा मात्र प्रदेश आयुर्वेदमा सिमित रहेको छ ।

भौतिक पूर्वाधारको अभाव भएको औषधालयको नयाँ भवन निर्माणको चरणमा रहेको बताइएको छ । यस्तै हाल सम्म पनि प्रदेश आयुर्वेद औषधालयलाई अस्पतालमा स्तान्तरण नगरिएको, स्वास्थ्य बिमा कार्यक्रम संग आयुर्वेदलाई नजोडिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।