२०८३, १७ असार बुधबार

नेपालगञ्जबाट हिउँ हेर्न गुराँसे, हिउँ हेर्न जाँदा सडकमा थेगिनसक्नुको सवारी चाप

वीरेन्द्रनगर स्थित सिद्धपाईला क्षेत्रमा सवारी चापका कारण परेको सडक जाम । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । बाँकेको नेपालगञ्जबाट अब्दुल आसिफ हिउँ हेर्न शनिबार सुर्खेतको रातानाङला हुँदै दैलेखको गुराँसे सम्म पुगे । शुक्रबार नै हिउँ परेको जानकारी पाए पछि पहिलो पटक हिउँ हेर्ने उत्साह सहित उनको टिम शनिबार बाँकेबाट सुर्खेत आएको थियो । बिहान झण्डै १० बजे बाँकेबाट हिँडेको उनको टोली वीरेन्द्रनगर स्थित सिद्धपाईला क्षेत्रमा लागेको ट्राफिक जामका कारण ४ बजे हिउँ भएको ठाउँमा पुगेको बताए । हिउँ हेरेर फर्कीने क्रममा भेटिएका आफिसले हिउँ देख्ने बित्तिकै बाटोभरको चिसो, थकान सबै हराएको बताए । ‘मैले जीवनमा पहिलो पटक हिउँ देखे,’ आसिफले भने, ‘यहाँ आउँदा एकदमै खुसी लागेको छ । बाटो भरीको चिसो, थकान हिउँ हेर्न पाउँदा हराएको छ ।’

चिसो मौसमको प्रवाह नगरी हिउँ हेर्न जाने मानिसको बाक्लो भिँडका कारण वीरेन्द्रनगर स्थित छेडाबाट गुराँसे सम्म शनिबार दिनभर सडक नै जाम भएको थियो । चिसो मौसमको प्रवाह नगरी हिउँ हेर्न गएका वीरेन्द्रनगर स्थित इत्रामका ८३ बर्षीया घनबहादुर बस्नेतले एकदमै खुसी भएको बताए । आफ्ना छोरा, नाती, नातिनी संग हिउँ हेर्न पुगेका बस्नेतले झण्डै १० बर्ष पनि ठूलो मात्रामा हिमपात भएको बताए । ‘यो हाम्रो पुरानो, गाई गोरु गोठ राख्ने ठाउँ हो । यहाँ पहिला हामी धेरै समय बिताएका थियौँ,’ उनले भने, ‘धेरै पछि यो ठाउँमा आउँदा एकदमै खुसी लागेको छ । धेरै मानिसहरु संग भेट भएको छ । आफ्नो पुरानो ठाउँमा आउने धोको पुरा भएको छ ।’

शुक्रबार हिउँ परे संगै शुक्रबार देखि शनिबार राती सम्म सडक नै जाम हुने गरी मानिसहरु हिउँ हेर्न रातानाङला हुँदै दैलेखको गुराँसे सम्म पुगेका थिए । शुक्रबारको तुलनामा मौसम शनिबार खुले पछि अत्याधिक मात्रामा मानिसहरु हिउँ हेर्न पुगेका हुन् । गुराँसे पुगेका र फर्किरहेकाहरु रातानाङ्गला र सिद्धपाईला क्षेत्रमा सवारीको चापले जाममा परेका हुन् । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गुराँसेमा हजारौंको संख्यामा नागरिकहरु हिउँ हेर्न आएको बताए । ‘प्रायः कम हिमपात हुने यस क्षेत्रमा यो पटकमा भारी हिमपात भएपछि वीरेन्द्रनगर उपत्यकाबाट हजारौँ नागरिकहरु यहाँ आउनुभएको छ,’ ओलीले भने, ‘साँघुरो सडकका कारण फर्किने र आउने नागरिकहरु जामका कारण यात्रा गर्न कठिन भइरहेको छ ।’

साना देखि ठूला ठूला सवारी साधन सहित हिउँ हेर्न गएका हजारौँको संख्यालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सकस भएको छ । बाक्लो भिँडलाई कम गर्न, बिहानै देखि ठूलो जनशक्ती परिचालन गरिए पनि भिँड व्यवस्थापन गर्न हम्मे हम्मे परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।