२०८१, ७ बैशाख शुक्रबार

लथालिङ्ग विद्युतका तार, व्यवस्थापन नगर्दा आवत जावतमा समस्या

वीरेन्द्रनगर–६ स्थित खोर्कलाईनमा सडकमा झरेको विद्युतको तार । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर बजार क्षेत्रमा विद्युतका तारहरुको राम्रो व्यवस्थापन नहुँदा आवत जावतमा समस्या देखिने गरेको छ । बजार क्षेत्रका मूख्य सडक, सहायक सडकहरुमा पुराना जिण अवस्थामा रहेका बिजुलीका पोलहरु स्थानान्तरण नहुँदा बेला बेलामा पोल नै ढल्ने, तार चुडिने समस्याहरु देखिने गरेका छन् । यति सम्मकी सडक, गल्ली गल्लीमा विद्युतका पोल, तारकै कारण ठूला सवारी आवत जावतमा सकस देखिने, आवत जावत गरेको अवस्थामा पोल नै ढल्ने, तार चुडिने जस्ता समस्याहरु देखिने गरेका छन् ।

वीरेन्द्रनगर बजार कर्णाली प्रदेशको राजधानी भए संगै मानिसहरुको चाप दिन प्रतिदिन बढ्दै गएको छ, सडक निर्माण, सडक फराकिलो बनाउने, पिच गर्ने जस्ता कामहरु पनि भइरहेका छन् । जस कारणले पनि विद्युतका अधिकांश तारहरु स्थानान्तरण गनुपनी त्यो हुन सकेको छैन ।

पुराना कच्ची पोल त्यसमा पनि मनपरी रुपमा जडान गरिएका तार चुडिदा बजार क्षेत्रमा आवत जावतमा समस्या देखिने गरेको छ नै आगलागी तथा अन्य दुर्घटनाको जोखिम समेत बढेको वीरेन्द्रनगर–६ स्थित खोर्केलाईनमा व्यवसाय गर्दै आएका दैलेखका रामबहादुर थापाले बताए । ‘सडकमा ठूला गाडी चल्दा तार नै चुडिने गरेका छन्,’ उनले भने, ‘तार बाटोमा चुडिना, दुर्घटना हुने, केरेन्ट लाग्ने जस्ता समस्याहरु देखिन्छन् । कच्ची काठका, सिमेन्टका पोल जिण अवस्थामा ढल्ने जोखिम पनि उत्तिकै छ ।’

बजार क्षेत्रका थुप्रै ठाउँहरुमा तारहरुको समस्या देखिए पनि नेपाल विद्युत प्राधिकरणले त्यसको व्यवस्थापनमा कुनै पनि चासो नदेखिएको वीरेन्द्रनगर ६ कै व्यवसायी रमेश खत्रीले बताए । विद्युतको तार, पोल व्यवस्थापन नहुँदा आगलागी हुने, करेन्ट लाग्ने जस्ता घटनाहरु भइरहेको उनले बताए ।

यता नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने तारहरु व्यवस्थापन, पोलहरु मर्मतको काम भइरहेको बताएको छ । विद्युत वितरण केन्द्रका प्रमुख युवराज रावतले कतिपय क्षेत्रहरुमा बजेट व्यवस्थापन नहुँदा विद्युतका पोलहरु स्थानान्तरण गर्न नसकिएको बताए ।

‘प्रदेश राजधानी भए संगै वीरेन्द्रनगरमा विकास निर्माणका कामहरु भइरहेका छन्’ उनले भने, ‘सडक फराकिलो बनाउँदा पहिले गाडेका पोलहरु बिच सडकमा पर्ने स्थानान्तरण गर्नुपर्ने अवस्था छ । स्थानान्तरण गर्दा बत्ति नै बन्द गर्नुपर्ने अवस्था आए पछि पुरा समय स्थानान्तरण गर्न पनि पाइएको छैन । कतिपय क्षेत्रमा बजेटको व्यवस्थापन नहुँदा ढिलाई हुँदै गएको छ ।’

हाल वीरेन्द्रनगरमा बुदबुदे सव स्टेसन देखि बांगेसिमल, मंगलगढि चोक देखि वीरेन्द्रचोक हुँदै गणेश चोकमा विद्युतका पोलहरु स्थानान्तरण गर्ने काम भइरहेको विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

३३ केभि प्रशारण लाईन मार्फत कोहलपुर देखि वीरेन्द्रनगर सम्म जडान गरिएको प्रशारण लाईनमा पनि बेला बेलामा समस्या आउँदा विद्युत सेवा नै बन्द हुने गरेको छ । वीरेन्द्रगरबाट दैलेख, कालिकोट हुँदै जुम्ला सम्म विद्युतको राष्ट्रिय प्रशारण लाईन विस्तार भएको छ भने मुगु, हुम्ला जडानको पक्रियामा रहेको छ । यता जाजरकोट हुँदै डोल्पा सम्म विद्युत विस्तारको काम भइरहेको छ ।