२०७९, १२ जेष्ठ बिहीबार

प्रशासनमा सेवाग्राहीको चाप रोक्न, सेवा प्रवाह गर्ने दिन तोकियो

सोमबार जिल्ला प्रशासन कार्यालयमा सेवागा्रहीको भिँड । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवागा्रहीको चापलाई कम गर्न दिन (बार) अनुसार सेवा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर फैलिरहेको अवस्थामा सेवाग्राहीको बाक्लो भिँडलाई कम गर्न प्रशासनले आउँदो आईतबार देखि लागु हुने गरी दिन तोकेको हो ।

मंगलबार एक सुचना जारी गर्दै प्रशासकिय अधिकृत रामबहादुर बुढाले आईतबार र शुक्रबार लेकेवशी नगुरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मंगलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मंगलबार भेगरीगंगा नगरपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाले सेवा लिने छन् । यस्तै बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाले सेवा लिने बताए ।

कोरोनाको बढ्दो जोखिम कम गर्न यस अघि जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेबाट लागु हुने गरी सम्पूर्ण सार्वजनिक निकायमा सेवा प्राप्त गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने बताइसकेको थियो । पछिल्लो समय राष्ट्रिय परिचय पत्र बनाउने मानिसहरुको चाप प्रशासनमा अत्याधिक छ । जिल्लाका विभिन्न स्थानीय तहबाट स्थानीयले गाडी नै बुक गरेर सेवा लिन आउने गरेका छन् ।

यति मात्र हैन विभिन्न राजनीतिक दलका प्रतिनीधिहरुकै अगुवाईमा ठूलो संख्यामा सेवाग्राहीहरु वीरेन्द्रनगरमा आइरहेका छन् । अन्य कार्यालयलाई कोरोना नियन्त्रणमा लाग्नको लागि आग्रह गर्ने जिल्ला प्रशासन भित्र नै थेगिनसक्नुको मानिसहरुको चापलाई लिएर जिल्ला प्रशासन कार्यालयको चर्को आलोचना समेत भइरहेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रहरी र प्रशासनको प¥यासले मात्रै कोरोना नियन्त्रण गर्न नसककिने भन्दै सबैलाई आ–आफ्नो ठाउँबाट सचेत हुन आग्रह समेत गरेका छन् । नागरिकले सबै कुरा देख्दा देख्दै पनि पूर्ण रुपमा व्यवास्था गरेको भन्दै प्रजिअ रिजालले निती नियमको पालना प्रशासन एक्लैले गराउन नसक्ने बताएको छ । प्रहरी, प्रशासन संगै अन्य निकाय, विशेष गरी नागरिकहरु आफै अग्रसर हुनुपर्ने उनले बताए ।

तेस्रो लहर बढे संगै कर्णाली प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाका, नाकामा चेकजाँच गर्ने, हेल्थ डेक्स स्थापना गर्ने, विदेशबाट आएकालाई नाकमै एन्टिजेन विधिबाट कोरोना चेक गर्ने बताएको छ ।

आकश्मिक रुपमा बढेको कोरोना नियन्त्रणको लागि स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट जडान, स्वास्थ्यकर्मीको व्यवस्थापन, आइसोलेसन सेन्टर निर्माण जस्ताकामलाई तिव्रता दिएको मुख्यमन्त्री जीवन बहादुर शाहीले बताएका छन् ।