२०८१, ७ बैशाख शुक्रबार

गठबन्धन टिकाउन राज्य स्रोतको चरम दुरुपयोग गरेको आरोप

प्रदेशसभामा आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कंडेल । फोटो सौजन्यः निरक कंडेल, प्रदेशसभा सचिवालय कर्णाली प्रदेश ।

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अर्थात नवौँ अधिवेशन बुधबारबाट सुरु भएको छ । दिउँसो तिन बजेका लागि बोलाइएको बैठकमा सरकारले गरेका काम कारवाही, २ महिना बित्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको बिषयलाई लिएर मुख्यमन्त्री जीवनबहादुर शाहीको चरम आलोचना गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कंडेलले सरकार केवल अभिलेखमा मात्रै सिमित देखिएको, व्यवहारमा अनुभूति हुने कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

‘गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयको साइनबोर्ड टाँस्ने खालका गतिविधिहरु भइरहेका छन्,’ कंडेलले भने, ’ कंडेलले भने, ‘साधन र स्रोत र संरचनाको चरम दुरुपयोग गरेर गठनन्धन टिकाउने बाटोमा हिँड्ने सरकारबाट कुन अपेक्षा गर्नु ।’ कंडेलले राम्रो गर्न खोजे आफ्नो पार्टीले सहयोग गर्ने समेत बताए ।

प्रदेश सरकारले डल्लो बजेट ल्याएको भनि चर्चा गरिए पनि एउटा जिल्लाको एउटा कार्यालयमा ५ लाख देखि ७ लाख सम्मका सयाँै योजनामा बजेट छुट्याएर चरम दुरुपयोगको बाटोमा अघि बढिरहेको आरोप लगाए । कर्णालीमा विकास गर्ने भन्दा पनि विकास खाने परम्परा हावी भएको भन्दै कंडेलले सरकारी साधन र साथन र स्रोतलाई पार्टीका सदस्यहरु बढाउने गरी खुलेआम चर्चा गरिएको समेत आरोप लगाए । कांग्रेस नेतृत्वको सरकारले यस अघि केन्द्रमा अध्यादेश मार्फत कानून ल्याएर एमाले फुटेर नयाँ पार्टी निर्माण गर्ने परिस्थिति ल्याएको समेत आरोप लगाए ।

बैठकमा सत्ता गठबन्धन भित्र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले मन्त्रिमण्डल बिस्तार तर्फ इङ्गित गर्दै तत्काल निर्णयमा पुगेर सरकारको गति बढाउनुपर्ने बताए । बजेट कार्यान्यन, संघियता पछि भएका राजनीतिक गतिविधिले व्यवस्था माथि नै प्रश्न उठिरहेको भन्दै बिष्टले त्यसमा सबै गम्भिर हुनुपर्ने बताए ।

बैठकले कर्णाली प्रदेश विनियोजन विधयक २०७८ र कर्णाली प्रदेश आर्थिक विधयेक २०७८ सभाबाट फिर्ता लिन सभा समक्ष आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान बिष्टले पेश गरेका छन् ।

सभामा प्रदेश प्रमुखबाट जारी भएका प्रदेश लोकसेवा आयोग दोस्रो संसोधन अध्यादेश २०७८, लोकसेवाका पदाधिकारीको पारिश्रमिक सेवाका सर्त र सुविधा सम्बन्धी अध्यादेश २०७८, कर्णाली प्रदेश खेलकुद विकास पहिलो संसोधन अध्यादेश २०७८ सभामा पेश गरिएको छ । साथै उक्त प्रस्तावलाई अश्विकार गर्न चाहानेले दुई दिन भित्र प्रस्ताव पेश गर्न समय सिमा तोकिएको छ । प्रदेशसभाको अर्को बैठक माघ २ गते आईतबार दिउसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।