२०७९, ६ जेष्ठ शुक्रबार

कोरोनाको तेस्रो भेरिएन्टको जोखिम, जोखिम बढ्दा, न्यूनिकरणको तयारीमा प्रदेश सरकार

आईतबार मेहलकुना अस्पताल र छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थानको निरीक्षण गर्दै मुख्यमन्त्री जीवनबहादुर शाही । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढे संगै सम्भावित तेस्रो लहरको न्यूनिकरणका लागि कर्णाली प्रदेश सरकार तयारीमा जुटेको छ । कोरोनाको पहिलो लहरमा क्वारेन्टिन, आइसोलेसन र दोस्रो लहरमा अक्सिजनको चरम अभाव झेलेको कर्णालीले तेस्रो लहरमा यस्ता समस्याहरु नआउने गरी तयारीमा जुटेको बताएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको संभावित तेस्रो लहर रोक्नका लागि पूर्व तयारीमा लाग्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् । भने यस अघिका कामहरुको समिक्षा गर्दै नयाँ कार्ययोजना सहित जोखिम न्यूनिकरणमा लाग्ने स्वास्थ्यकर्मीको तयारी छ ।

प्रदेशका १० वटै जिल्लाका स्वास्थ्यकर्मी समिक्षा तथा योजना तर्जुमाको लागि वीरेन्द्रनगरमा आएका छन् । पुष २५ गतेबाट २७ गते सम्म हुने समिक्षाले कोरोना नियन्त्रणमा थप सहज हुने स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी पदम केसीले बताए । उनले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले स्वास्थ्यकर्मी, ल्याप टेस्ट, खोप अभियान, प्रदेश भित्रिने नाकाहरुमा चेटजाँचलाई कडाई गरिएको समेत बताए ।

प्रदेश सरकारले प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरूवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । भने सुर्खेत सहित सल्यान, जाजरकोट, रूकुम, डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको बताइएको छ । प्रदेश भित्रिने मुख्य नाकाहरु सुर्खेतको बबई, र जामु कुहिने नाका, सल्यानको कपुरकोट, सुर्खेत विमानस्थल लगायतका ठाउँमा कोरोना परीक्षण गरेर मात्रै नाकामा प्रवेश गराउने तयारी गरेको छ ।

यता कर्णाली प्रदेश अस्पतालले पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारीमा लागेको छ । एक सय ३० बेडको कोभिड अस्पताल रहेको अस्पतालले आजैबाट अक्सिजन उत्पादन गरेर सप्लाई गर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटर, पिपिई सेट, कोभिड चेकजाँचलाई तिव्रता दिने प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । संक्रमण जुन सुकै बेला पनि बढ्न सक्छ, उनले भने, ‘तेस्रो लहरको प्रभाव पहिलो र दोस्रो भन्दा धेरै पनि हुन सक्छ । यस्ता सम्भावित जोखिमहरुको अध्ययन गरेर हामी त्यसलाई न्यूनिकरणको लागि जुट्ने छौँ ।’

आईतबार मात्रै सुर्खेतका विभिन्न क्षेत्रमा एन्टिजेन विधिबाट २६ जनामा गरिएको परिक्षणमा १२ जनामा पोजेटिभ देखिएको छ । ओमिक्रोनको जोखिम बढिरहेको अवस्थामा ओमिक्रोन हो वा होइन पुनः परिक्षण (रि कन्फम)को लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने र त्यस पस्यात आधिकारीता आउने सुचना अधिकारी केसीले बताए । ओमिक्रोनको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म देशैँभरका विद्यालय बन्द गर्ने निर्णय गरेसंगै कर्णाली प्रदेश सरकार पनि तयारीमा जुटेको हो ।