२०७९, ६ जेष्ठ शुक्रबार

स्थानीय तहमा अस्पताल, उद्घाटनको लहर मात्रै, निर्माण कार्य कछुवाको गतिमा

सुर्खेत । सरकारले एक बर्ष अघि एकै दिन देशका ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल सिलान्यास ग¥यो । सोहि कार्यक्रम अनुसार तत्कालिन स्वास्थ्य राज्य मन्त्री नवराज रावतले सिलान्यास गरेको १५ सैयाको लाटिकोईलि अस्पताल अझै स्वास्थ्य चौकीमै सिमित छ । राष्ट्रिय कार्यक्रम अनुसार तयारी बिना नै हतार, हतार सिलान्यास गरिएको यो अस्पताल निर्माणको काम सुरु समेत हुन सकेको छैन ।

तत्कालिन लाटीकोईली स्वास्थ्य चौकीलाई १५सैयाको अस्पतालमा स्तरउन्नती गर्ने भनिए पनि एक बर्ष सम्म निर्माण कार्य समेत अघि नबढेपछि सेवाग्राहीले अस्पतालको सेवा पाउन सकेका छैनन् । वीरेन्द्रनगरको बढ्दो जनसंख्याले दैनिक जसो सयौँ मानिसहरु स्वास्थ्य चौकीमा उपचारको लागि जाने भए पनि उपचार नपाएर नीजि मेडिकल क्लिनिकहरुमा जान बाध्य छन् ।

अस्पतालको उद्घाटन भएपनि निर्माणको काममा कसैले पनि चासो नदेखाएको वीरेन्द्रनगर–९ लाटिकोईलीका राजबहादुर बुढाले बताए । ‘हाम्रो सबै भन्दा पहिला त भवनको अभाव छ,’ उनले भने, ‘भवन नहुँदा हामीले राम्रो संग सेवा लिन पाएका छैनौँ । कतिपय सेवाहरु त अहिले पनि सुरु नै हुन सकेका छैनन् ।’

अस्पताल निर्माणको काम कछुवाको गतिमा छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ ले अस्पतालको टेण्डर पक्रिया सकिएर निर्माणको चरणमा रहेको बताएको छ । ‘राष्ट्रिय कार्यक्रम अनुसार सिलान्यास गरिए पनि टेण्डर पक्रिया, कोरोनाका माहामारीका कारण निर्माणमा केहि ढिलाई भएको पाइन्छ,’ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धरले भने, ‘२ बर्ष भित्र निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनी संग सम्झौता भएको छ । अबको १०, १२ दिनमा निर्माणको काम अघि सुरु हुन्छ ।’

भरतपुर चितवनको आसिश माउन्ट पुमोरी जेभीले २० करोड १२ लाख ७४ हजार २ सय ८४ रुपैयाँमा भवनको ठेक्का लिएको छ । यस अघि स्वास्थ्य मन्त्रालयले २५ करोडको लागत स्टुमेन्टमा साढे तिन तलाको अण्डरग्राउण्ड पार्कीङ सहितको भवन स्वीकृत गरेको छ । सम्झौता अनुसार पहिलो किस्ता बापत एक करोड भुक्तानीको लागि पक्रियामा रहेको र उक्त रकमको भुक्तानी भए पस्यात काम सुरु हुने बताइएको छ । वीरेन्द्रनगरको लाटीकोईलि अस्पताल त एक उदाहरण मात्र हो । कर्णालीमा उद्घाटन गरिएका अधिकांश अस्पतालहरु निर्माण हुन सकेका छैनन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगर अस्पताल, सुर्खेतका बराहताल,लगायतका थुप्रै क्षेत्रहरुमा निर्माणको कामले गति नलिँदा स्थानीयले अस्पतालको सेवा लिन पाएका छैनन् ।