२०७९, १० जेष्ठ मंगलवार

खेलाडी बिष्ट र बुढालाई पुरस्कृत, सुर्खेतमा नेपालकै पहिलो भलिवल कवर्डहल निर्माण गरिदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै पहिलो भलिवल कवर्डहल निर्माण हुने भएको छ । निर्माणाधिन प्रदेशस्तरीय रंगशालामा नेपालकै पहिलो भलिवलको कवर्डहल निर्माण गर्ने प्रदेश खेलकुद परिषद्ले निर्णय गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आईतबार सम्पन्न परिषद्को बैठकले निर्माणाधिन प्रदेश रंगशालालाई तिव्रता दिने बताएको छ ।

कर्णाली प्रदेश सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी स्वरुप वीरेन्द्रनगरमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम अघि बढाइएको छ । यस अघि मंसिर २० गते मुख्यमन्त्री शाहीले रंगशालाको सिलान्यास गरिसकेका छन् । सिलान्यास पछि निर्माण कार्यलाई तिव्रता दिएको भन्दै परिषद्ले सिलान्यास यता माटो परीक्षणको काम सम्पन्न भएको बताएको छ । भने डीप बोरिङ, विद्युतको टान्सफर्मर राख्ने, साईट घेरबारको काम भइरहेको कर्णाली प्रदेश खेलकुद परिष्दका सदस्य सचिव विश्वमित्र सज्जयालले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली राष्ट्रिय महिला भलिबल टिमकी खेलाडी मध्ये जाजरकोटकी कामना विष्टलाई ५० हजार र अल्टाम्याराथनमा महिलातर्फ प्रथम स्थान हासिल गर्न सफल जुम्लाकी सुनमाया बुढालाई दुई लाख रूपैयाँ सहित प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने निर्णय गरेको छ ।

वीरेन्द्रनगरमा रहेको रंगशाला निर्माणको चरणमा रहेको अवस्थामा निर्माण सम्पन्न नहुँदा सम्मको लागि कालिन्चोक मैदानलाई वैकल्पिक मैदानको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । बैठकमा मुख्यमन्त्री शाहीले प्रदेशकै एक मात्र राष्ट्रिय गौरवको योजनाको समयमै निर्माण सक्ने गरी कार्ययोजना बनाएर काम गर्न निर्माण प्रदेश खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

साविक कर्णाली र भेरीका जिल्लाहरु मिलेर बनेको कर्णालीमा हाल खेल पूर्वाधारका संरचनाहरु सुन्य अवस्थामा छन् । प्रदेशमा एउटा पनि राष्ट्रिय स्तरको रंगशाला नभएको अवस्थामा प्रदेश रंगशालालाई सबैले महत्वपूर्णका साथ हेरिएको छ । झण्डै डेढ करोडमा २०८१ बैशाख सम्म निर्माण सपन्न गर्ने गरी काठमाडौँको एमएसीजी कम्पनीले निर्माणको जिम्मा लिएको छ ।

९औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुनेछ । भने २०८१मा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । १०औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर प्रदेश खेलकुद परिषद्ले खेल संरचना संगै खेलाडीहरुको उत्पादन, प्रशिक्षक तथा अन्य व्यवस्थापकिय काममा समेत लागेको परिषद्ले बताएको छ ।