२०८३, १६ असार मंगलवार

राज्यले बेवास्ता गरेको एउटा ‘विशेष विद्यालय’

११ पुस, सुर्खेत । वीरेन्द्रनगर–८, कटुवा चोक, निकै व्यस्त चोक हो । जसलाई क्याम्पस एरिया भनेरपनि चिनिन्छ । धेरैजसो मान्छेहरुको आवत–जावत हुने यही चोकको बाँया तर्फको किनारमा छ,‘सिद्ध बहिरा बाल विद्यालय ।’ जहाँ बोल्न र सुन्न नसक्ने बालबालिकाहरु अध्ययन तथा शिक्षकहरु अध्यापन गरिरहेका भेटिन्छन् ।

शैक्षिक थलो भन्ने वित्तिकै सबैलाई लाग्छ ‘स्वच्छ, सफा र सुन्दर ज्ञान भण्डारको क्षेत्र हो।’ तर उक्त विद्यालयमा त्यस्तो खाले कुनै वातावरण देखिदैन् । बहिरा तथा सुस्त श्रवण विद्यार्थीले पढ्ने ठाउँमा न प्रयाप्त भौतिक संरचना छ, नत शिक्षण सामग्री र वातावरण नै छ । राजधानीको मुटुमा रहेको प्रदेशकै एकमात्र बोल्न र सुन्न नसक्ने बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको यो अबस्थाले राज्यका निकायलाई गिज्याईदिएको छ ।

झण्डै ४१ बर्षअघिदेखि सञ्चालनमा आएको यो विद्यालय अनेक समस्याले थलिएको छ । विद्यालयको भौतिक संरचनाको अबस्था हेर्दा लाग्छ, यो केही बर्षदेखि छाडीएको जीर्णद्धार संरचना हो । नत शिक्षालयको व्यवस्थापन नै गतिलो छ ।

अहिले माध्यामिक तहसम्मको अध्यापन गराउने जनशक्ति ९ जना रहेको छ । जसमा ७० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयका निमित्त प्रधानाध्यापक याङ्लाल कँडेलले जानकारी दिए ।

उनले भने,‘हामीले विगतदेखिनै आवाश्यक जनशक्तिको अभाव झेल्दै आएका थियौं । अहिले पनि आवश्यकता अनुसारको जनशक्ति नै छैन्।’ उनका अनुसार विद्यालयमा नेपाली, अङ्ग्रेजी र सामाजिक विषय अध्यापन गराउने शिक्षकनै छैनन् । त्यी विषयहरु अन्य विषय पढाउने शिक्षकहरुले नै पढाउँदै आएका छन् । यतिमात्र होइन् उनले नाजुक भौतिक संरचनाको फेहरिस्त पनि सुनाए ।

माध्यामिक तहका विद्यार्थीले नै विषयगत शिक्षक नपाउँदा पढन–पाठनमा समस्या भइरहेको बताए । डोल्पाकी शर्मीला बुढा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । उनले सांकेतिक भाषा प्रयोग गर्छिन्। उनको संकेतले विद्यालयमा शिक्षक नहुँदा पढाइमा समस्या भइरहेको दर्शाइरहेको थियो ।

विद्यालयको अबस्थाबारे बेखर मन्त्रालय

यो विद्यालय अहिले कर्णाली प्रदेश सरकारको मातहतमा छ । प्रदेश सरकारले वर्षेनी विद्यालयहरुको लागि बजेट विनियोजन समेत गर्द आएको छ । तर यो विद्यालयले अहिलेसम्म प्रदेश सरकारबाट कुनै लाभ प्राप्त गर्न सकेको छैन् ।

‘संघीयतापछि हाम्रो विद्यालयलाई प्रदेश मातहतमा राखियो । आशा थियो अब विद्यालयको मुहार बदलिनेछ । तर नजिकको सरकर भनेर के गर्नु, कुनै सहयोग प्राप्त हुन सकेन् । हाम्रो पहुँचनै त्यहाँ पुग्दैन् । अनि सरकारले हामीहरुलाई के वास्था गथ्र्यो र..!’ प्रधानाध्याप कँडेलले भने ।

थप दरबन्दी सिर्जना गर्न अहिलेसम्म कुनै पहल समेत हुन सकेको छैन् । ‘हामीले गुनासो राखेर मात्र नहुने रहेछ । धेरै पटक समस्या राख्यौ तर कसैले सुनेन’ उनि भन्छन् ।
यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णु अधिकारीले भने चालु आर्थिक बर्षमा विद्यालयका लागि कुनैपनि बजेट व्यवस्था नगरिएको बताए ।

‘गत आर्थिक बर्ष ०७७–७८ मा पाँच लाख रकम विनियोजन गरिएको थियो । खर्च हुन नसकेर फ्रिज भयो । चालु आवमा बजेट नै छैन्’ उनले भने । प्रदेश राजधानीको मुटुमा रहेको विद्यालयलाई प्रदेश सरकारले बेवास्था गरिरहेको छ अन्य विद्यालयको अबस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका निमित्त प्रमुख नारायणप्रसाद पौडेलका अनुसार सिद्ध बहिरा विद्यालयमा अहिले ९ जना शिक्षकहरुमध्ये ८ जनाको दरबन्दीका हुन् । जसमध्ये प्राथमिक तहमा ३, निम्नमाध्यामिक तहमा ४ र माध्यामिक तहमा एक जना मात्र शिक्षक रहेका छन् ।

अपाङ्गता भएका ९५ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिर

कर्णाली प्रदेशमा अपाङ्गता भएका झण्डै ९५प्रतिशत बालबालिकाहरु शिक्षाको पहुँच बाहिर रहेको अपाङ्ग महासंघ कर्णाली प्रदेशको तथ्याङ्कले देखाउँछ । महासंघका प्रदेश अध्यक्ष विष्णु शर्मा अपाङ्गमैत्री संरचनामा राज्यले नै बेवास्ता गरिरहेको बताउँछन् ।

उनका अनुसार कर्णाली प्रदेशका कुल बालबालिकाको संस्था मध्ये २० हजारभन्दा बढी बालबालिका अपाङ्गता भएका छन् । त्यसमध्ये ५ प्रतिशत मात्र आधारभुत तहको शिक्षाको पहुँचमा छन् ।