२०८३, २० असार शनिबार

झण्डै दुई वर्ष पछि महोत्सवको झल्को

दर्शकलाई आफ्नो गितमा नचाउँदै गाएक रामकृष्ण ढकाल । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । साँझ पाँच बजिसकेको थियो । वीरेन्द्रनगर–६ स्थित चौहान पार्क मानिसले झन खचाखच भरिँदै थियो । पुष महिनाको बढ्दो चिसोको प्रवाह नगरी युवा पुस्ता देखि वृद्ध वृद्धा सम्म कलाकारहरुको प्रस्तुती हेर्नका लागि अतुर थिए । कोरोना भाइरस (कोभिड–१९)को माहामारीका कारण झण्डै दुई बर्ष पछि यस्ता खालको मनोरञ्जनात्मक कार्यक्रम हुँदा दर्शकहरु एकदमै उत्साहित थिए ।

स्वास्थ्य र सम्वृद्धिका लागि सप्तरङ्ग यात्राको सातै प्रदेश दौडाहको क्रममा राष्ट्रिय स्तरका कलाकारहररूले शनिबार साँझ वीरेन्द्रनगरमा भव्य रुपमा प्रस्तुती दिएका छन् । गाएकहरु बद्री पंगीनी, रामकृष्ण ढकाल, प्रमोद खरेल, मिलन नेवार, अस्मिता अधिकारी, अनिल सिंह लगायतका कलाकारले गित संगित मार्फत दर्शकलाई मनोरञ्जन दिए ।

बद्री पंगिनीले खोई कसले बुझिदिने कर्णालीको व्यथा, अब त मुगुका सडक पिच भए होलान, जुम्ला, हुम्लामा मोटरबाट पुग्यो होला भन्दै सांगितिक भाषामा प्रदेश सरकारका मन्त्रीहरुको ध्यानाकर्षण गराए । कार्यक्रममा कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, पूर्व मन्त्री विमला केसी लगायत नेपाल प्रहरीका उच्च पद्धस्त व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कलाकारहरुले मन्त्री देखि स्थानीय कलाकारहरुलाई समेत नचाए । कार्यक्रममा मोडल उषा उप्रेती, नेपाल प्रहरीको सांस्कृतिक टोलीले भव्य प्रस्तुती दिएका थिए ।

गृस्मा ब्रोडकास्टिङले देशका सात वटै प्रदेशमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश नम्बर एकको झाँपा, दुई नम्बर प्रदेशको जनकपुर, बाग्मती प्रदेशको नारायणघाट र लुम्बिनी प्रदेशको नेपालगञ्जमा कार्यक्रम गरे पस्यात सुर्खेतमा कार्यक्रमको आयोजना गरिएको हो ।

सात प्रदेश अन्तर्गत अब सुदुरपश्चिम प्रदेशको धनगढी र गण्डकी प्रदेशको पोखरामा कार्यक्रमको आयोजना गर्ने गृस्मा ब्रोडकास्टिङक सञ्चालक गृहेन्द्र घिमिरेले जानकारी दिए । यस अघि कार्यक्रममा महानायक महानायक राजेश हमाल, हास्य कलाकार सन्दिप क्षेत्रीको सहभागिता हुने बताइए पनि विशेष कार्यक्रमले हुन नसकेको आयोजकले बताएको छ ।

कला संस्कृतिका माध्यामबाट नागरिकमा स्वास्थ्य, मनोरजञ्जन, एकताको सन्देश दिनको लागि क्रमश प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको आयोजकले बताएको छ । कर्णालीका १० वटै जिल्लाका मानिसहरु तथा अन्य प्रदेशका मानिसहरुको बसोबास रहेको वीरेन्द्रनगरमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।