माओवादी केन्द्र कर्णालीको अध्यक्षमा केसी
सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध चयन भएकी छन् । बुधबार वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटिको पहिलो बैठकले केसीलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरेको हो । कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी बिमला केसी कर्णाली प्रदेशको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् ।
यहि मंसिर २५ गते वीरेन्द्रनगरमा सुरु भएको प्रदेशको पहिलो अधिवेशनले मंगलबार २ सय ११ सदस्यी प्रदेश कमिटि गठन गरेर अधिवेशन सम्पन्न भएको घोषणा गरिएको थियो । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए ।
तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य झकबहादुर मल्लले जानकारी दिए । निवर्तमान अध्यक्ष राजकुमार शर्मा र पुर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाही पनि अध्यक्षका दाबेदार थिए ।
२०४६ सालदेखी राजनीतिमा आवद्ध केसी माओवादीले सुरुवात गरेको १० वर्षे जनयुद्धमा भूमिगत भएकी थिइन् । केसी हाल सम्म दुई पटक प्रहरी हिरासत बसेकी छन् । रुकुम पश्चिमबाट निर्वाचित सांसद केसीलाई अध्यक्षमा चयन गरेपनि अन्य पदाधिकारीको भने टुंगो लगाउन बाँकी नै रहेको छ ।
उनका अनुसार अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन, अर्को बैठकले टुंगो लगाउनेछ । अध्यक्ष केसी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी छन् । पार्टीले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने केसीले बताएकी छन् ।
‘महिलालाई सधै माग्ने ठाउँमा राखियो, अब पार्टीले दिने ठाउँको जिम्मेवारी दिएको छ,’ केसीले भनिन्, ‘मन्त्री हुँदा पनि परिणाम देखिने गरी काम गरेकी थिए । अब पार्टीलाई अब्बल बनाउने गरी लाग्नेछु ।’ वीरेन्द्रनगरमा सम्पन अधिवेशनले पार्टीलाई थप उर्जाशिल बनाएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । अधिवशेनमा पार्टी भित्रका मात्र नभएर समर्ग कर्णाली प्रदेशका विकास निर्माणका मुद्दाहरुमा समेत छलफल भएको माओवादी केन्द्रले बताएको छ ।

