सारंगी रेट्दै हिँडेका ६६ बर्षीया कृष्ण गन्धर्व

सुर्खेत । वीरेन्द्रनगर–५ चिसापानीका कृष्ण गन्धर्व उमेरले ६६ बर्षका भए । उमेरले दिन दिनै बुढो हुँदै गएका उनको दैनिकी सारंगी रेट्दै बित्ने गरेको छ । हिजो आज उनी वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न ठाउँमा सारंगी रेट्दै गरेको अवस्थामा भेटिन्छन् । मंगलबार वीरेन्द्रनगर ६ न्यूरोडमा भेटिएका कृष्णले दैनिक गुजरा चलाउनकै लागि भए पनि बजारमा सारंगी रेट्दै हिँड्ने गरेको बताए ।
घरपरिवारबाट एक्लिएका उनको एक्लो ज्यान सारंगीको ताल संगै मोडिने गर्दछ । ‘मेरो अधिकांश समय यहि सारंगी बजाएरै बित्ने गरेको छ,’ उनले भने, ‘बुढो भए पछि अरु काम गर्न सकिदैन् । आफुसंग भएको यहि एउटा सिप हो । यहि बजाएरै भए पनि गुजरा चलाउँदै आएको छु ।’
२०५६ सालमा दाङबाट बसाई सराई गरेर सुर्खेत आएका कृष्णका तीन छोरा र तीन छोरी छन् । छोरा र छोरीको बिहे भए पछि फरक–फरक ठाउँमा छुट्टीएर बसिरहेका छन् । झण्डै २२ बर्ष पहिला नै श्रीमती बित्दाको पीडा उनले सारंगी मार्फत पोखीरहेका छन् ।
कुनै समय अत्याधिक मात्रामा प्रयोग हुने सारंगी पछिल्लो समय लोप हुने अवस्थामा छ । युवा पुस्ताको ध्यान सारंगी तिर नजाँदा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् । ‘मेले बच्चा देखि नै यहि सारंगी बजाउँदै आएको छु,’ उनले भने, ‘तर अहिलेका युवा पुस्ताको ध्यान त्यसमा छैन । मोवाईल फोनका कारण उनीहरुले यसमा ध्यान नै दिदैनन् ।’
२०१२ सालमा जन्मिएका गन्धर्वले राज परिवारको स्वागतमा थुप्रै पटक सांस्कृतिक कार्यक्रममा सहभागि भएको बताए । तत्कालिन समयमा दाङमा राजा वीरेन्द्र, महेन्द्र आउँदा थुप्रै सांस्कृतिक कार्यक्रम गरेको बताए । ‘त्यो समय राजपरिवारबाट हुने थुप्रै यस्ता सांस्कृतिक कार्यक्रममा म सहभागि भएको छु,’ उनले थपे, ‘राजपरिवारबाट पुरस्कार समेत पाएको छु । सुर्खेतमा पनि राजा वीरेन्द्र आउँदा सांस्कृतिक कार्यक्रमको लागि हामी गएका थियौँ । पहिला त यस्ता थुप्रै कार्यक्रम हुन्थ्ये बोलाउथ्ये तर अहिले त त्यस्तो छैन ।’
देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आइसकेपछि पनि उनले जिम्दार, ठेकेदार, मुखिया तथा अन्य विश्ष्टि व्याक्तिहरुलाई सारंगी मार्फत मनोरञ्जन दिलाएको बताउँछन् । ’अहिले बुढा भइयो आफुले चाएको सबै गर्न सकिदैन जमना पनि फेरीयो अब पुराना कुराहरु बिस्तारै हराउँदै छन् । सारंगी बजाउँदा पनि कसैले सुन्दैन । यसको संरक्षण तथा सम्व्रधनमा कसैले पनि चासो दिएको छैन । बुढेसकालमा हामी त बाध्य भएर बजाउने गर्दछौँ ।’
