२०७८, १३ माघ बिहीबार

१० हजार दर्शक क्षमताको रंगशाला, ३० महिनामा सक्ने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेशको एक मात्र प्रादेशिक रंगशालाको शिलान्यास गरिएको छ । वीरेन्द्रनगर–८ स्थित हाल जिण अवस्थामा रहेको रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रुपमा प्रदेश सरकारले अघि सारेको छ । १० हजार दर्शक अट्ने क्षमताको रंगशाला एमएसीजी कम्पनी काठमाडौँले ठेक्का लिएको छ । झण्डै डेढ अर्बमा २०८१ वैशाख (३० महिना) भित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर यस अघि नै भइसकेको छ । रंगशालाको सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका छन् ।

रंगशालाभित्र फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाईने छ भने आठ लेनको सेन्थेटीक एथलेटिक्स ट्रयाक बनाईनेछ । १० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशाला भित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि रंगशालाभित्र निर्माण गरिनेछ । रंगशाला भित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबल लगायतका खेलहरू खेल्न मिल्ने गरी निर्माण गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सज्यालले बताए ।

रंगशालाको शिलान्यास गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले समयमा नै सबै कामहरु सक्ने कुरामा प्रदेश सरकारको ध्यान केन्द्रीत हुने बताएका छन् । हाल सम्म कर्णाली प्रदेश खेलकुद क्षेत्रमा पछि परेपनि आगामि दिनमा अन्य प्रदेश सरह नै अघि बढाउने आफ्नो योजना रहेको बताए । कुनै पनि काम समयमा गर्न सकिएन भने त्यसलाई गौरवको योजनको नाम राख्नु अनर्थ हुने भन्दै शाहीले प्रदेश स्तरीय रंगशाला कार्ययोजना अनुसार निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

कर्णालीमा पहिलो पटक प्रदेश स्तरीय गौरवको आयोजनाको शिलान्यास भए पछि खेलाडीहरुमा उत्साह छाएको छ । प्रदेश सरकार निर्माण भए यता पहिलो पटक यसरी प्रदेश गौरवको रुपमा योजनालाई अघि बढाएको हो । खेलप्रेमीहरुको ठूलो जमात रहेको कर्णालीमा जिण अवस्थामा खेल खेल्न बाध्य रहेका खेलाडीहरुले अब स्तरीय रंगशालामा अभ्यास गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने कर्णाली प्रदेशको तयारी छ । तर प्रदेशमा हाल सम्म एउटा पनि स्तरीय रंगशाला निर्माण हुन सकेको छैन । खेलकुदको सून्य संरचना रहेको कर्णालीमा प्रदेश स्तरीय रंगशालाको निर्माण भए संगै खेलकुद क्षेत्रमा नयाँ आयाम आउने सुर्खेत काँक्रेविहार क्लवका अध्यक्ष चन्द्रप्रकाश शाहीले बताए ।