२०७८, १४ माघ शुक्रबार

२२ सांसदको समर्थनमा मुख्यमन्त्री शाही लिए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । बुधबार दिउँसो एक बजे बोलाईएको प्रदेशसभा बैठकबाट शाहीले सहजै रुपमा विश्वासको मत लिएका हुन् । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहीको समर्थनमा २२ सांसदले हस्ताक्षर गरेका छन् । कुल ३५ जना सांसद मध्ये नेकपा एमालेका सभामुख बाहेकका १२ जना सांसद भने बैठकमा उपस्थित भएनन् । एक सांसद रहेको प्रतिपक्षी दल राप्रपाले पनि मुख्यमन्त्री शाहीलाई समर्थन गरेको छ ।

मुख्यमन्त्री् शाहीले मंगलबार नै विश्वासको मत लिनुपर्ने कार्यतालिका रहेपनि एमाले महाधिवेनका कारण एमाले सांसदहरु उपस्थित नभएपछि बुधबारका लागि सारिएको थियो । तर बुधबार पनि एमाले सांसदहरु बैठकमा सहभागि भएनन् ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको बिहीबार एक महिना पुग्दैछ ।

८ मन्त्रालय रहेको कर्णालीमा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री जीवन बहादुर शाहीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान बिष्टलाई नियुक्त गरेका छन् भने अन्य ६ मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्दै आएका छन् ।

विश्वासको मत लिँदै मुख्यमन्त्री शाहीले पुराने सरकारले सुरुवात गरेका राम्रा कामहरु सकारात्मक रुपमा अघि बढाउने बताए । सम्भावना नै सम्भावना बोकेको कर्णालीमा सबैको साथ सहयोगबाट नेपालकै नमुना प्रदेशको रुपमा विकास गर्न लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।