२०८१, ८ बैशाख शनिबार

समयमा नै भएन ढुवानी, हिमाली जिल्ला पठाउने ११ हजार क्विन्टल चामल सुर्खेतमै थन्कियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतको गोदाममा थन्किएको चामल । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । पछिल्ला केहि दिन यता हिमाली जिल्ला हुम्लामा खाद्यन्नको चरम संकट परेको छ । हुम्ला मात्र हैन साविक कर्णालीका मुगु, डोल्पामा खाद्यन्नको संकट बर्षेनी देखिने गरेको छ । हिमपात सुरु हुनै लाग्दा खाद्यन्न नपाए हुम्लीबासी चामलको माग गर्दै संघिय राजधानी काठमाडौँ पुगेका छन् ।

हुम्लाका सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङ सहितको टोली संघिय राजधानी काठमाडौँ पुगेका छन् । हिमाली जिल्लामा खाने चामल नपाएर भोगमरीको अवस्था आउँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरेन्द्रनगर सुर्खेतको गोदाममा भने ११ हजार क्विन्टल चामल थन्किएको छ । समयमा नै ढुवानी नहुँदा चामल कार्यालयमै थन्किएको कार्यालयका सुचना अधिकारी बासुदेवी रिजालले बताए ।

एक बर्षमा झण्डै १५ हजार देखि २० हजार क्विन्टल चामल आवश्यक पर्ने हुम्लामा चालु आर्थिक बर्षको प्रथम चौमासिकमा हुम्ला शाखाका एक सय ३७ र श्रीनगर डिपोमा एक सय ६५ गरेर ३ सय दुई क्विन्टल चामल मात्र पुगेको छ । चामल ढुवाई गर्ने सबै भन्दा भरपर्दो माध्याम हवाई यातायात हो तर विवाद भए पनि हवाई मार्फत ढुवानी कार्य रोकिएको छ ।

हवाई यातायात माध्यम मार्फत ६ हजार क्विन्टल चामल जानुपर्ने भए पनि हाल सम्म हवाई मार्फत ३७ क्विन्टल चामल मात्रै गएको छ । लिमिटेडको कन्द्रीय कार्यालय देखि नै ढुवाईको लागि ढिलो ठेक्का खुल्ने, ठेक्का परेका कम्पनीले नै समयमा नै ढुवाई नगर्दा साविक कर्णालीका जिल्लाहरुमा चामलको समस्या पर्ने गरेको रिजालले बताए ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हुम्लामा पर्याप्त मात्रामा खाद्यन्न पुर्याउनै सकिएको छैन,’ उनले भने, ‘चालु आर्थिक बर्षमा हुम्ला बाहेक मुगुमा ९ सय २६, डोल्पामा तिन सय ५०, जुम्लामा एक सय ५०, कालिकोटमा २ सय क्विन्टल र दैलेखमा एक सय ८० क्विन्टल चामल गएको बताएको छ ।’

साविक कर्णालीका पाँच जिल्लामा बर्षेनी ४० देखि ५० हजार क्विन्टल चामल बर्षेनी आवश्यक पर्ने गर्दछ । सुर्खेत सहित, नेपालगञ्ज, दाँङ, धनगढी लगायतका क्षेत्रबाट चामल ढुवाई हुने गरेको छ । तर ढुवानीको जिम्मा पाएका कम्पनीले समयमा नै ढुवानी गर्न नसक्दा हिमाली जिल्लामा खाद्य संकट पर्ने गरेको छ ।