२०८०, १८ जेष्ठ बिहीबार

तस्कर माथि प्रहरीको छापा, चितुवाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको बराहताल गाउपालिका –५ बड्डिचौर स्थित प्रेम होटलमा छाला सम्बन्धी कारोबार भएको बिषेश सुचनाको आधारमा प्रहरी चौकी बड्डिचौर, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछाम पंचदेवल विनायक नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही, सोही ठाउँका २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय बिमल शाही रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट सात फिट सात इन्च, पाँच फिट ९ इन्ट र ६ फिट सात इन्चका तीन थान चितुवाको छाला बरामद गरेको छ । साथै उनीहरुको सातबाट २७ हजार नगद, विमल शाहीको नाममा काटिएको ४५ लाखको चक र चार थान मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय सुर्खेतमा बुझाउने एसपी बिष्टले जानकारी दिए ।

‘अनुसन्धानबाट थप कुराहरु खुल्ने छ,’ एसपी बिष्टले भने, ‘प्रहरीको अनुमानका राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ल्याएको हुनुपर्छ । यथपी अन्य ठाउँबाट पनि हुन सक्छ त्यो खुल्न सकेको छैन ।’

कर्णाली प्रदेशको प्रवेशद्धार समेत रहेको सुर्खेतमा प्रहरीले यस अघि पनि विभिन्न समयमा वन्य जन्तुको छाला बरामद गरीरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज संग जोडिएको क्षेत्र भएकाले पनि सुर्खेतमा बन्य जन्तुको तस्करी अन्य जिल्ला भन्दा धेरै हुने गरेको प्रहरीले बताएको छ ।