मनपरी सहायक रोड खन्दा मुल राजमार्गमा सकस

सुर्खेत । कर्णाली राजमार्ग कर्णालीकै एक महत्वपूर्ण राजमार्ग हो । सुर्खेतबाट कर्णाली नदिको किनार हुँदै गएको राजमार्गको व्यवस्थापनलाई लिएर बेला बेलामा चर्चा हुने गरेको छ । साँघुरो राजमार्गमा बर्षायाममा बाढी पहिरो, दुर्घटना तथा हिउँदमा धुलाम्मे सडकमा सकस हुने गरेको छ ।
पछिल्लो समय राजमार्गको विभिन्न क्षेत्रबाट निर्माण गरिएका सहायक रोडका कारण कर्णाली राजमार्ग दिन प्रतिदिन बिग्रिदै गएको छ । स्थानीय तथा प्रदेश सरकार मार्फत योजनाहरु राजमार्ग व्यवस्थापन कार्यलय संग कुनै समन्वय नै नगरेर धमाधन बाटाहरु निर्माण गर्दा राजमार्गमा सकस भएको छ । राजमार्गको सुर्खेत हुँदै दैलेख, कालिकोट क्षेत्रका विभिन्न ठाउँमा निर्माण गरिएका सहायक रोडमा जाने बाढी पहिरोले कर्णाली राजमार्ग नै बगाउने गरेको छ । जथाभावी रोड खन्दा स–साना खोलाहरुले धार परिवर्तन गरेर राजमार्ग नै बगाउने गरेको छ ।
सहायक राजमार्ग निर्माण गरिएको ठाउँमा सडक अत्याधिक मात्रामा बिग्रिएको राजमार्गमा नियमित आवत जावत गरीरहेका चालकहरु बताउँछन् । पछिल्ला केहि बर्षहरुमा राजमार्गबाट बनाइएका सहायक रोडका कारण कर्णाली राजमार्ग नराम्रो संग बिग्रिएको लामो समय सम्म कर्णाली राजमार्गमा सवारी चलाउँदै आएका जुम्लामा रमेश रावतले बताए ।
‘राजमार्गको सुर्खेत र जुम्ला क्षेत्रमा अलि राम्रो भए पनि दैलेख र कालिकोट क्षेत्रमा नराम्रो संग बिग्रिएको छ,’ उनले भने, ‘बर्षायाममा बाढी पहिरोको डरले यात्रा गर्न सकस हुन्छ भन् आजकाल (हिउँदमा) धुलोले सवारी चलाउँदै सकस छ । धुलोका कारण संगसंगै गाडी चलाउन सक्ने अवस्था समेत छैन । सडक मर्मत सुधारको काम भए पछि एक महिना भन्दा धेरै टिक्दैन ।’ विशेष गरी स्थानीय तहले रातारात सडक मनपरी खन्दा कर्णाली राजमार्ग कच्ची सडकमा परिर्णत हुने अवस्था आएको चालकहरु बताउँछन् ।
यता कर्णाली राजमार्गको व्यवस्थापनको काम गर्दै आएको सडक डिभिजन कार्यालय सुर्खेतले सहायक रोडका कारण कर्णाली राजमार्ग बनाउनै नसक्ने गरी बिग्रिने गरेको बताएको छ । कार्यालयकी सुचना अधिकारी तथा ईन्जिनियर सजना पोखरेलले सडक डिभिजन कार्यालय संग कुनै पनि समन्वय नै नगरी स्थानीय तथा प्रदेश सरकारले निर्माण गरीएका सडकका कारण कर्णाली राजमार्ग बिग्रिने गरेको बताइन् ।
‘राजमार्ग ठाउँ ठाउँमा मर्मतको काम भए पछि मनपरी रुपमा निर्माण गरिएका सहायक रोडका कारण बाटो नराम्रो संग बिग्रिने गरेको छ,’ उनले भनिन, ‘स्थानीय तथा प्रदेश सरकारबाट अघि बढाइएका योजनाहरु सडक डिभिजन कार्यालय संग कुनै समन्वय नै नभएर रातारात निर्माण गरिन्छ । प्रशासनले पनि कुनै कारवाही गर्न सकेको छैन ।’
सहायक राजमार्गका कारण सडक नै बगाउने गरेपनि प्रशासन मौन रहेको उनले बताइन् । राजमार्गका अहिले पनि विभिन्न क्षेत्रमा मर्मत तथा सुधारको काम भइहेको भन्दै उनले चैत्र सम्म पूर्ण रुपमा सडक मर्मत तथा सुधारको काम हुने बताइन् ।
नेपाल सरकारले चालु आर्थिक बर्षमा रत्नराजमार्गको हर्रे देखि कालिकोटको दहिखोला सम्मको सडक मर्मतको लागि पाँच करोड रुपैयाँ छुट्याएको छ । त्यो रकम कम हुने भए पछि ठेक्का समेत लाग्न सकेको छैन । इन्जिनियर पोखरेलले थप बजेट माग गरेको बताइन् । थप बजेट आएपछि पूर्ण रुपमा सडक मर्मत तथा सुधारको काम हुने बताइन् ।
