२०७९, ६ जेष्ठ शुक्रबार

आगलागीबाट मुगुमा ३५ करोड बढिको क्षति, राहतको आशमा पीडित

सुर्खेत । गएको सोमबार राती मुगुमा भएको आगलागीमा परी २० वटा घर जलेर नष्ट भएका छन् । जिल्ला सदरमुकाम गमगढी छायाँनाथ रारा नगरपालिका–१ स्थित छिरिङ लामाको घरमा बालिएको दियोबाट सल्केको आगोले बजार नै सखाप बनाएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । आगलागीबाट २१ घरका २५ जना घरधनीको २५ करोड र ५५ जना व्यापारीको १० करोड भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।

‘प्रहरीमा प्राप्त विवरण अनुसार अहिले सम्म ३५ करोड भन्दा बढिको क्षति भएको छ,’ उनले भने, ‘केहि व्यापारीहरु जिल्ला बाहिर भएका कारणले पनि क्षतिको विवरण आउनेक्रम जारी नै छ ।’ एक आपसमा जोडिएका घरहरु, आगो निभाउन पानीको अभाव जस्ता कारणले मुगुबासीको ठूलो धनमाल जलेर नष्ट भएको उनले बताए ।

राहतको आशमा पीडित
हिउँदको चिसो समयमा घरबार बिहीन भएका अग्नी पीडित राहतको आशमा छन् । दुई दिन देखि आफन्तको शरणमा परेका पीडितलाई विभिन्न संघ संस्थाहरुले राहत वितरण गरीरहेका छन् । जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले पीडितलाई १० हजार देखि २५ हजार सम्म तत्काललाई राहत दिनेक्रम जारी रहेको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए । प्राप्त राहत जिल्ला प्रशासन कार्यालयको अगुवाईमा एकद्धार प्राणीबाट राहत विरण भइरहेको उनले बताए ।

राहत सहित मुख्यमन्त्रीले गरे स्थलगत अनुगमन
आगलागी भएको क्षेत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेका छन् । उनी राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार मुगु पुगेर फर्कीएका छन् । तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडाहरु, खाद्यान्न र रेडक्रसको राहत सामग्री लगेर मुख्यमन्त्री शाही मुगु पुगेका हुन ।

मुख्यमन्त्री मंगलबार दिउँसो नै मुगु जाने कार्यक्रम तय भए पनि हेलिकप्टर ढिला आएपछि तालिका रद्द भएको थियो । मंगलबार बिहान प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर आपतकालीन राहत लिएर मुख्यमन्त्री शाही मुगु जाने कार्यक्रम बनाईएको थियो । प्रक्रिया पूरा गर्न समय लाग्दा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पनि ढिला सुर्खेत आएको थियो । मुख्यमन्त्री सहित नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, मुगुका सांसद् झोवा विक, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव समेत सहभागि थिए ।