बाढीले कर्णालीको ब्राण्ड मार्सीधान संकटमा
सुर्खेत । विश्वकै अग्लो स्थानमा उत्पादन हुने जुम्ली मार्सीधानको चर्चा समर्ग देशभरी नै उत्तिकै छ । स्वास्थ्यका लागि एकदमै उपयुक्त मानिने मार्सीधान पछिल्लो समय विदेशमा समेत निर्यात हुने गरेको छ । सिमित उत्पादन हुने मार्सीको असिमित मात्रामा माग बढिरहेको छ ।
तर यो बर्ष मार्सी धान किसानले घर भित्र्याउने बेलामा परेको झरीका कारण धान बाढीले बगाएको छ । बाढीका कारण जुम्लाको तिला र तातोपानी गाउँपालिका केही जमिन बगरमा परिणत भएको छ भने किसानलाई मासीको बीउ जोगाउन मुस्किल भएको छ ।
जुम्लामा यो वर्ष २ हजार ९ सय हेक्टरमा खेती गरिएकोमा झण्डै २ हजार हेक्टरमा उत्पादन भएको धानमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । तिला र तातोपानीमा मात्रै १८ हेक्टर जमिन ढुवानमा परेको जिल्ला कृषि विकास प्रमुख वालकराम देवकोटाले बताए । ‘जिल्लाभरि नै उत्पादन भएको मार्सीधान डुवानमा परेको छ,’ उनले भने, ‘झरी अझै नरोकिएकाले यो वर्ष बीउ जोगाउन पनि मुस्किल हुने देखियो ।’ उनले मार्सी धानमा मात्रै करिब ७ करोड रुपैयाँको क्षति पुगेको अनुमान गरे । गत वर्ष जिल्लाबाट ६ करोड रुपैयाँको मार्सीधान बाहिर गएको कार्यालयको तथ्यांक छ ।
जुम्लाका अधिकाशं किसानले दसैंको टिकाको भोलि पल्टदेखि नै धान काटेका थिए । धान जति सबै पानीले भिजाएर काम नलाग्ने भएको खलंगाकी किसान माया अधिकारीले बताइन् । ‘दसैंको भोलिपल्टै सबै धान काटिसकेका थियौं, तर त्यही राति परेको पानीले सबै धान डुबायो,’ उनले भनिन्, ‘अब बीउ पनि पाउन मुस्किल हुने देखियो ।’
पानीले भिजाएर नष्ट गरेको धानको चामल पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको कृषि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानको पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने अवस्थामा छ । ‘बचेको धानको बीउ पनि अब प्रयोग गर्न मिल्दैन,’ कार्यालय प्रमुख देवकोटाले भने, ‘सरकाले भर्खरै ब्रान्डिङ गरेको मार्सीधान नै संकटमा प¥यो ।’
जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बेमौसमको वर्षाले धानमा ठूलो क्षति पु¥याएकाले क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । ‘सरकारले किसानका लागि प्याकेजमा राहतका कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भने, ‘कर्णालीको पहिचान मार्सीधान नै संकटमा प¥यो, बीउ नै नरहे कसरी अर्को वर्ष मार्सी उत्पादन हुन्छ ?’
बाढीले विद्यालय बगरमा परिणत
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ । अहिले विद्यालयमा गिट्टी र ढुङ्गा थुप्रिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय बन्द भएर केहि समय पहिले देखि सञ्चालनमा आएको थियो । तर यही कात्तिक १ गतेदेखि परेको निरन्तर वर्षाका कारण नदीमा आएको बाढीले विद्यालय नै बगाएकाले पठनपाठन ठप्प भएको विद्यालयका विद्यार्थी बताउँछन् ।
विद्यालय असोज ३० गतेदेखि सञ्चालन गरिएकामा कात्तिक १ गतेको बाढीले सबै बगायो । उक्त विद्यालयका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपानेले भने, ‘विद्यालय बगर बनेको छ । पठनपाठन सञ्चालन गर्न कठिन छ । बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ । बगाउन नसकेका केही भवनमा पनि तत्काल कक्षा सञ्चालन गर्न पनि नसकिने अवस्था छ ।’ उनका अनुसार विद्यालयको कक्षा कोठामा बालुवा थुप्रिएको छ भने झ्याल, ढोका फुटेका छन् । उलने भने, ‘डेस्क–बेञ्च छैनन् । तत्काल मर्मत गर्न सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिन्छ ।’

