बेमौसमी बर्षा, कर्णालीमा ७ जनाको मृत्यु, एक बेपत्ता, लाखौँको क्षति

सुर्खेत । निरन्तरको बर्षाका कारण कर्णाली प्रदेश सहित देशँैभरी मानविय संगै करडौँको धन सम्पत्ति नष्ट भएको छ । कर्णालीमा बर्षाले घर भत्किदा सात जनाको मृत्यु भएको छ भने एक जना नदिमा बगेर बेपत्ता छन् । लाखौँको क्षति भएको छ । बर्षाका कारण हुम्ला, जुम्ला र कालिकोटमा धेरै क्षति भएको छ भने अन्य जिल्लाहरुमा लगाइएको धानबाली बर्षाले क्षति पुर्याएको छ ।
बर्षाका कारण पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा ७० वर्षीया धनवीरे सहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।
बर्षाका कारण घर भत्किँदा कालिकोटमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको महाबै–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मंगलबार मृत्यु भएको हो । स्मृत सँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी भने घाइते छन् ।
खाना खाएर घरमा सुतिरहेको बेला राम्नी अधिकारी वडाका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई सोमबार राति १२ बजे स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ ।
बर्षाकै कारण जुम्लाको हिमा नदीमा दाउरा तान्न खोज्ने क्रममा हिमा गाउँपालिका ५ कि ३२ वर्षिया रत्ना शाहि बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
बर्षाले मानविय संगै अन्य लाखौँको क्षति गरेको छ । जुम्लाको तातोपानी गाउँपालिका १ सय १७ भन्दा बढि भेडा बगाएको छ भने ३ वटा घर बगाएको छ । ७ हेक्टर मार्सीधान सहित १८ हेक्टर भन्दा बढि धानबालिमा बाढिले पूर्ण रुपमा नष्ट गरेको छ । भने ५ वटा स्याउ बगैँचा बगाएको छ । तिला गाउँपालिका ४ नुवाकोटमा १ घर बगाएको छ भने खोला किनारमा रहेका दर्जन बढि घर परिवार छिमेकीको सरणमा छन् । ३ वटा विद्यालय भवन बाढीले बगाएको छ । तातोपानि र तिलाका गरि ४ वटा बिद्युत गृह र बाँध बगायो २ वटा खानेपानि प्रणालि ध्वस्त पारेको छ । बर्षाका कारण कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको अवस्था छ भने नाग्म गमगढी सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
यता कालिकोटमा बाढीले भेडाबाख्रा बगाएको छ । तिला कर्णाली नदीमा आएको बाढीले १३० वटा भेडाबाख्रा बगाएको हो । तिलागुफा नगरपालिकाको खल्लागाडमा ३० घर परिवारले पालेका १३० वटा भेडाबाख्रा बगाएको छ भने ४० वटा जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । बर्षाले कर्णली करिडोर निर्माणको लागि निर्माण सामाग्री र गाडी तार्न प्रयोग गरिएको फेरी बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर उपत्यका सहित अन्य क्षेत्रहरुमा काटेको धान बर्षाका कारण खेतमै डुवेको अवस्था छ भने धेरै ठाउँमा धान बाढीले बगाएको अवस्था छ । कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । मंलबार राती आएको बाढीले सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बगाएको हो । सोहि क्षेत्रमा कार्यरत ४८ वर्षीय गंगाप्रसाद जैशीको नदिले बगाएको अवस्थामा सकुशल उद्दार गरिएको छ ।
बर्षाका कारण अवरुद्ध अधिकांश सडक ममर्त पछि सञ्चालनमा आए पनि कर्णाली राजमार्गमा भने धेरै क्षति भएकाले सञ्चालनमा आउन केहि समय लाग्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी उपरिक्षक माधव प्रसाद क्षेष्ठले जानकारी दिए ।
‘विपदबाट क्षति कम गर्न १० वटै जिल्लामा प्रहरीको उद्धार टोली खटिएको छ,’ उनले भने, ‘बर्षाका कारण बिग्रेका थुप्रै सडक पुन सञ्चालनमा आएका छन् भने केहि सञ्चालन गर्न विपद् व्यवस्थापनको टोली लागिपरेको छ । बर्षा कम भए पछि अवस्था केहि सहज हुने देखिन्छ ।’
