निरन्तरको बर्षाले धानबालीमा क्षति

सुर्खेत । लगातारको बर्षाले भित्राउन लागेको धानबालीमा क्षति पुर्याएको छ । किसानले काटेर भित्राउन लागेको समयमा निरन्तर ठूलो बर्षा हुँदा धान बारीमै कुहिने अवस्थामा पुगेको छ । तिन दिन देखि निरन्तर जारी बर्षा अझै लम्बिएको अवस्थामा धेरै मात्रामा धानबालीमा क्षति पुग्ने कृषि विग्यहरु बताउँछन् ।
जुम्लामा भित्र्याउने तयारीमा रहेको मार्सी धानको फाँटमा नै बाढी पसेको छ । सदरमुकाम खलङ्गा नजिकैको दोभानमा बाढीका कारण कृषकले लगाएको मार्सी धानमा ठूलो क्षती पु¥याएको हो ।
तिला नदी किनारा आसपासमा रहेका अधिकाँश ठाउँमा बाढीले धानबालीमा क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख दानबहादुर थापाले बताए । बाढीले मार्सी धानमा ठूलो क्षती पु¥याए पछि जुम्लाका प्रमुख जिल्लाका अधिकारीहरु सहितको टोली धान कटान क्षेत्रको एकिन तथ्यांक संलनका लागि स्थलगत अनुगमनमा गएका छन् ।
बर्षाका कारण सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम लगायतका अन्य जिल्लाहरुमा पनि धानबालीमा बर्षाले ठूलो क्षति पुर्याएको छ । १३ हजार हेक्टर क्षेत्रमा लगाइएको धानबाली बर्षाका कारण खेतमै पानी जम्दा धानमा ठूलो क्षति पुगेको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले बताए ।
‘निरन्तरको बर्षाका कारण काटेको धान बारीमै कुहिने अवस्थामा छ,’ उनले भने, ‘अझै पानी दुई चार दिन सम्म निरन्तर रहने अवस्थामा अझै ठूलो क्षेति पुर्याउन सक्छ । यदि भोलीबाटै चर्को घाम लागेमा क्षति कम हुन सक्छ ।’
निरन्तरको बर्षाका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा काटेर सुकाएको ५० देखि ५५ प्रतिशत धानमा पूर्ण रुपमा क्षति पुगेको उनले बताए । काटेको धानमा मात्रै नभएर ढलेको र धेरै पाकेको धानमा समेत बर्षाले क्षति पुर्याएको छ ।
निर्देशनालयको प्रारम्भिक अध्ययनले सुर्खेतमा काटेको धानमा ३० देखि ४५ प्रतिशत उत्पादनमा गिरावट आउने भएको छ । पाकेको धान मात्रै नभएर कोदो तथा अन्य बालीहरुमा पनि बर्षाले असर गरेको छ । कर्णालीमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरीन्छ । ति मध्ये प्रति टेक्टर चार मेटिक्टन धान उत्पादन हुने निर्देशनालयले बताएको छ । गत बर्षको तुलनामा कुल उत्पादनको १० प्रतिशत भन्दा बढिले धान उत्पादन बढ्ने अनुमान गरीए पछि बर्षाका कारण त्यसमा गिरावट आउने बताइएको छ ।
शुक्रबार सम्म बर्षा जारी
असोज ३१ गतेबाट बदली भएको बर्षा शुक्रबारबाट सफा हुने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जानकारी दिएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा मंगलबार भारी बर्षा भएको छ बर्षा बुधबारबाट कम हुँदै जाने तर पूर्ण रुपमा बर्षा नियन्त्रण भने शुक्रबारबाट हुने कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
‘मंगलबार साँझ केहि क्षेत्रहरुमा मौसम खुले पनि राती पुन मौसम बदली हुने देखिन्छ,’ उनले भने, ‘भोली पनि केहि मात्रामा बर्षा हुने देखिन्छ । तर पर्सीबाट बर्षा कम हुँदै जाने देखिन्छ । पूर्ण रुपमा शुक्रबार बाट मौसम सफा हुने देखिन्छ ।’
