२०७८, २७ आश्विन बुधबार

दशैँमा बजार रित्तिदै, गाउँघर जानेको भिँड

सोमबार वीरेन्द्रनगर बसपार्कमा गाउँघर जाने यात्रुहरुको भिँड । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । हिन्दु नेपालीहरुको महान पर्व बिजया दशमी नजिकिए संगै गाउँघर जानेको भिँड बढेको छ । वीरेन्द्रनगर बसपार्कबाट दैनिक हजारौँ मानिसहरु दशैँको लागि गाउँघर गइरहेका छन् ।

सिटी बसपार्कमा बिहान देखि साँझ सम्म यात्रुहरुको ठू्रलो भिँड देखिन्छ । वीरेन्द्रनगरमा अधिकांश मानिसहरु कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, जाजरकोट लगायतका जिल्लाका मानिसहरुले बसोबास गर्दै आएका छन् । केहि दिन अघि सुनसान जस्तै बन्ने बसपार्क घटस्थापनाको दिन देखि तिव्र रुपमा चलह पहल बढिरहेको छ ।

वीरेन्द्रनगर बसपार्कबाट दैनिक सात हजार भन्दा बढि मानिसहरु बाहिरिने गरेका नगर प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतले जानकारी दिएको छ । नगर प्रहरी कार्यालयका प्रमुख लालबहादुर सुनारले अन्य दिनहरु भन्दा सोमबार अत्याधिक धेरै भिँड देखिएको बताए ।

यात्रुहरुको चाप बढेपछि यातायात व्यवसायीहरुले सवारी संख्या बढाएका छन् भने विभिन्न रुटहरु परिवर्तन गरीएको छ । दिन प्रतिदिन यात्रुहरु बाहिरिए संगै वीरेन्द्रनगर बजार बिस्तारै सुनसान बन्दै गएको छ । बजारमा बसेर अध्ययन गर्ने विद्यार्थीहरु, कर्मचारी, व्यापारीहरु बाहिरिए संगै बजारमा चहलपहल घट्दै गएको छ । कोरोना भाइरसका कारण अन्य बर्षको तुलनामा ५० प्रतिशत भन्दा बढि व्यापार घटेको व्यवसायीहरु बताउँछन् ।

‘कोरोनाका कारण गत बर्ष जस्तै यो बर्ष पनि बजार क्षेत्र नराम्रो संग प्रभावित भएको छ,’ उपहार फेन्सी हाउसका सञ्चालक रामप्रसाद पाण्डेले भने, ‘गत बर्षको तुलनामा पनि यो बर्ष बजारमा व्यापार घटेको छ । यसको मुख्य कारण कोरोना हो । कोरोनका कारण विद्यालयहरु बन्द हुँदा अधिकांश विद्यार्थीहरु पहिले नै गाउँघर जाँदा पनि व्यापार घटेको हो ।’
नक्कली टिकट काट्ने दुई जना पक्राउ

वीरेन्द्रनगर सिटी बसपार्कमा नक्कली टिकट काट्ने दुई जना पक्राउ परेका छन् । बसपार्कमा यात्रुको भिँडलाई मौका छोपेर नक्कली टिकट काटेको रहस्य खुलेको छ । नक्कली टिकट काटिरहेको अवस्थामा यातायात व्यवसायीहरुले पक्राउ गरेका हुन् । देउती नागरिक यातायात प्रा.लि.लोगो र छाप बनाएर नक्कली टिकट बसपार्क बाहिर काटिरहेको अवस्थामा व्यवसायीहरुले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा दैलेख आठविस नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर–६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई ओटा टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । दुई टिकटमा सुर्खेतदेखी कालिकोट मान्मसम्म १८५० र सुर्खेत जुम्ला दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।