२०७८, २८ आश्विन बिहीबार

चाडपर्व लक्षित बजार अनुगमन तिव्र, म्याद नाघेका, अवैध सामाग्री नष्ट

शुक्रबार बजार अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ लगायतको टोली । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । दशैँ तिहार, छठ पर्व नजिकिए संगै वीरेन्द्रनगरमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रसाशन कार्यालय, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज, सुर्खेत उद्योग वाणिज्य संघ, उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालय लगायतका अन्य विभिन्न क्षेत्रहरुको सहभागितामा संयुक्त रुपमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । टोलीले वीरेन्द्रनगर बजार सहित सुर्खेतका अन्य बजार क्षेत्रहरुबाट अनुगमनको क्रममा थुप्रै म्याद नाघेका सामाग्रीहरु, अवैध रुपमा ल्याइएका सुर्ति जन्य सामाग्री नष्ट गरेको छ ।

प्रशासनले मंगलबार देखि अनुगमनलाई तिव्रता दिइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जको टोलीले संयुक्त रुपमा गरेको अनुगमनमा ८ वटा पसबाट २५ हजार भन्दा बढिको सामाग्री बरामद गरेर नष्ट गरीएको छ । यस्तै एउटा पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ भने अन्य व्यवसायीलाई सम्झाई बुझाई गरीएको उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

‘अनुगमनको क्रममा थुप्रै खाद्य तथा अखाद्य बस्तुहरु भेटिएका छन्,’ उनले भने, ‘यति सम्म की सन् २०१५, ०१६ देखिका समाम्रीहरु भेट्टीएका छन् । कति व्यापारीले पसल नै दर्ता नगरेर सञ्चालन गरीरहेका छन् । यसरी बजार क्षेत्रमा व्यापारीको मनपरी भएको पाइयो ।’

शुक्रबार नै उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयले २३ वटा भन्दा बढि पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा ५ हजार भन्दा बढिको सामाग्री जफत गरेर नष्ट गरेको छ । खाद्य पसल, तरकारी पसल, सब्जी मण्डी लगायतका पसलहरुमा निर्देशनालयले अनुगमन गरेको हो । अनुगमनको क्रममा खाद्य तथा अखाद्य बस्तुहरु नियन्त्रणमा लिएर नष्ट गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पदमलाल लामिछानेले बताए ।

‘भारतबाट अवैध मात्रामा भित्रिएको सुर्ति जन्य पदार्थ, धेरै पुराना म्याद नाघेका सामाग्रीहरु हामीले नियन्त्रणमा लिइरहेका छौँ,’ उनले भने, ‘शुक्रबार बरामद भएको ३१ बोरा म्याद नाघेको सामाग्री नष्ट गरेका छौँ भने अन्य जफत गरीएको सामाग्री नष्ट गर्ने क्रममा छौँ ।’

अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भए/नभएको, मूल्य सुची राखे/नराखेको, पसल दर्ता गरे/नगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरे/नगरेको, उपभोग्य म्याद समाप्त भए/नभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे/नरहेको आदी जस्ता कुराहरुलाई ध्यान दिई अनुगमन भइरहेको उनको भनाई छ । अनुगमन चार्डपर्वको बेलामा मात्रै नभएर अन्य समयमा पनि निरन्तर जारी राख्ने उनले बताए ।