२०७८, २७ आश्विन बुधबार

पश्चिम नेपालमा दुर्गा प्रसाईको क्यान्सर अस्पताल, कर्णालीबासीलाई २० प्रतिशत छुट दिने घोषणा

सुर्खेत । बि एण्ड सि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले पश्चिम नेपाललाई लक्षित गरेर क्यान्सर अस्पताल निर्माण गर्ने भएका छन् । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलाई ध्यानमा राखेर प्रसाईले कोहलपुरमा अस्पताल निर्माण गर्ने बताएका छन् । देशकै पिछडिएको प्रदेशको रुपमा रहेको कर्णालीलाई उपचार सेवामा २० प्रतिशत छुट दिने बताएका छन् । साथै कर्णालीका सम्पूर्ण महिलाहरुको पाठ्यघरको निशुल्क चेकजाँच गर्ने पनि बताएका छन् ।

अस्पताल निमार्णको दौडाहमा बिहीबार सुर्खेत आएका प्रसाईले व्यवसायी, नागरिक समूह, राजनीतिज्ञ तथा अन्य पेशाकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् । कार्यक्रममा सहभागिले प्रसाईको अस्पताल स्थापना गर्ने कदमको स्वागत गरेका छन् ।

‘हामीले पश्चिम नेपाललाई तारगेट गरेर अस्पताल बनाउने छाँै,’ व्यवसायी प्रसाईले भने, ‘कोहलपुर तिन वटै प्रदेशको लागि पाएक पर्ने ठाउँ हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ । अस्पताल निर्माण गर्न झण्डै ५ सय करोड लाग्ने हाम्रो अनुमान छ भने निर्माण सुरु भएको दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ ‘म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु’ भन्ने नाराका साथ आफु अघि बढिरहेको भन्दै प्रसाईले कर्णालीलाई विशेष प्रथामिकता दिने समेत बताए ।

‘कर्णाली गरिब होईन यहाँबाट पलायन हुने मानिसहरु गरिब हुन्,’ प्रसाईले भने, ‘अब युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाएर विदेशीयकालाई पनि स्वदेश फर्काउने हाम्रो अभियान हुनेछ ।’

परम्परागत राजनीतिक संस्कार बोकेको नेतृत्वले गर्दा नेपाली समाज देशको विकास हुन नसकेको भन्दै प्रसाईले जनताले विकास प्रेमि नेतृत्व खोजेको बताए । विकास गर्ने नेतृत्वलाई आफ्नो सधै साथ सहयोग रहने भन्दै प्रसाईले सहकार्यको लागि तयार भएको समेत बताए । विशुद्ध रुपमा आफु देश निर्माण गर्ने अभियानमा लागेको भन्दै प्रसाईले अझ थुप्रै काम गर्न बाँकी रहेको बताए ।