२०८०, १६ चैत्र शुक्रबार

सुर्खेतमा खुल्न थाले विद्यालय

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिए संगै विद्यालय सञ्चालनमा स्थानीय तहले जोड दिएका छन् । कोरोनाको जोखिमलाई ध्यानमा राखेर विद्यालय सञ्चालनमा जुटेका हुन् । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्यका मापदण्डहरुको पालना गर्दै भौतिक रुपमा पठनपाठन कार्य अघि बढाउन सक्ने निर्णय गरेको थियो ।

सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने छ । तर वीरेन्द्रनगर नगरपालिका डेड जोडमा छ भने भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । रेड जोनमा भए पनि जोखिम उठाएर विद्यालय सञ्चालनको अनुमति दिइएको थियो ।

प्रशासनले विद्यालय सञ्चालनको अनुमति दिए संगै वीरेन्द्रनगर नगरपालिकाले भदौँ २२ गतेबाट विद्यालय सञ्चालनको तयारी गरेको छ । नगरपालिकाले धेरै विद्यार्थीहरु भएको विद्यालयमा २०,२० जनाका दरले सिप्ट अनुसार विद्यालय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित सिंहले भदौँ २२ गतेबाट विद्यालय सञ्चालन गर्ने गरी अघि बढिरहेको जानकारी दिए ।
‘एक कक्षामा २० जना मात्र विद्यार्थीहरु राखेर पढाउन सकिने छ,’ उनले भने, ‘विद्यालय सञ्चालनको बिषयमा अझै पनि गृहकार्य भइरहेको छ । थोरै विद्यार्थीहरु भएको विद्यालयमा विद्यार्थीहरुले सहजै रुपमा अध्ययन गर्न पाउने छन् भने थुप्रै विद्यार्थीहरु भएको विद्यालयमा सिप्टमा पठनपाठन कार्य सुरु हुनेछ ।’

यता पञ्चपुरी नगरपालिकाले पनि सिप्टमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । पञ्चपुरी नगरपालिकाका सुचना अधिकारी लालबहादुर सुवेदीले सिप्ट अनुसार विद्यालय सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । ‘विद्यालयहरु त आजबाट नै सञ्चालन भएका छन्,’ उनले भने, ‘तर सिप्ट अनुसार सञ्चालनको गृहकार्य भइरहेको छ । यो बिषयमा नगरपालिकाले सरोकारवालाहरु संग छलफल जारी राखेको छ ।’

यस्तै चौकुने गाउँपालिकाले भदाँै १५ गते देखि नै विद्यालय सञ्चालन गरीरहेको छ । गाउँपालिकाले हप्तामा एक दिन विद्यार्थीहरुलाई बोलाएर अध्ययन गराउने गृहकार्य दिने, अर्को साता चेक गर्ने गरी विद्यालय सञ्चालन भइरहे पनि अब नियमित सञ्चालनको तयारी भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । बराहताल गाउँपालिकाले पनि विद्यालय सञ्चालनको लागि गृहकार्य भइरहेको बताएको छ ।

यस्तै सुर्खेतका अन्य विभिन्न स्थानीय तहहरुले पनि विद्यालय सञ्चालनमा जोड दिइरहेका छन् । सुर्खेतमा मात्रै नभएर कर्णाली प्रदेशका अन्य विभिन्न जिल्लाहरुमा पनि विद्यालय सञ्चालन भइरहेका छन् ।