वीरेन्द्रनगरमा अनियन्त्रीत विद्युत, प्राधिकरण भन्छ, एक सय ३२ केभि प्रशारण लाईन नआए सम्म यस्तै रहन्छ

सुर्खेत । बर्षायाम सुरु भए संगै सुर्खेतमा निरन्तर विद्युत अनियन्त्रीत भइरहेको छ । कोहलपुरबाट वीरेन्द्रनगरलाई जोेड्ने प्रसारण लाईनमा निरन्तर समस्या आए संगै वीरेन्द्रनगर बजार सहित दैलेख, कालिकोट लगायतका क्षेत्रहरु अन्धकार हुने गरेका छन् । अधिकांश वन जंगल भएको क्षेत्रमा बेला बेलामा रुख ढल्दा विद्युत अवरुद्ध हुने गरेको छ ।
निरन्तरको बर्षाका कारण आईतबार लेकबेसी नगरपालिका ७ हिलेसोतामा रुख ढलेर सुर्खेत लगायत, दैलेख, कालिकोट, जुम्लाको विद्युत सेवा निरन्तर दिनभर अवरुद्ध भयो । बर्षायाममा जंगल क्षेत्रमा निरन्तर रुख ढल्दा विद्युत सेवा अवरुद्ध हुने गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए ।
‘बर्यायाममा अन्य समय भन्दा धेरै अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘अधिकांश क्षेत्र राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले पनि समस्या पर्ने गरेको छ । ३३ केभि प्रशारण लाईन पुरा पनि भयो । निकुञ्ज क्षेत्रमा रुखहरु काट्न पाँइदैन । त्यस कारणले पनि समस्या भएको छ ।’
प्रशारणलाईनमा आउने समस्या समाधान गर्नको लागि एक सय ३२ केभि प्रशारण लाईनको विकल्प नभएको उनले बताए । ‘एक सय ३२ केभि अग्लो हुने भएकाले सजिलै अवरोध हुँदैन,’ उनल भने, ‘३३ केभिको होचो लाइन भएका कारण यहाँ बेला बेलामा समस्या आउने गरेको छ । हाम्रो टिम निरन्तर लाईन सञ्चालन गर्नको लागि खटिरहेको छ ।’
नेपाल सरकारले कोहलपुरबाट सुर्खेत हुँदै दैलेख सम्म एक सय ३२ केभि प्रशारण लाईन जडानको पक्रिया अघि बढाएको छ । तर लामो पक्रियाका कारण कार्य सम्पादन अघि बढ्न नसक्दा कर्णाली प्रदेशबासी छिनछिनको अन्धकार भोगिरहेका छन् । एक सय ३२ केभि प्रशारण लाईनको लागि टेण्डर प्रक्रिया सकिएर अण्डर कन्ट्रक्सनको चरणमा रहेको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश वितरण केन्द्रका प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले जानकारी दिए ।
कोहलपुर सुर्खेत, दैलेख सय सय ३१ केभि प्रसारण लाईन आयोजनाको कोहलपुरमा कार्यालय स्थापना गरेर भारतीय कम्पनीले काम अघि बढाएको छ । झण्डै ७० करोड बढि लाग्ने आयोना निरन्तर काम अघि बढेको अवस्था झण्डै ३ बर्षमा निर्माण सम्पन्न हुने प्रमुख अग्रहरीले जानकारी दिए ।
‘एक सय ३२ केभीको लागि कोहलपुर मै दुई, तिन ठाउँमा जग्गाको समस्या छ’, अग्रहरीले भने, ‘निकुञ्ज क्षेत्रमा लगभग समस्या समाधान भइसकेको छ । सुब्बाकुनामा पनि जग्गाको समस्या छ । आयोजनाको काम निरन्तर भएको अवस्थामा २ देखि ३ बर्ष भित्र सुर्खेतमा प्रशारण लाईन आइपुग्ने उनले बताए ।

