२०८३, १७ असार बुधबार

भर्ना अभियान पछि पूर्ण रुपमा बन्द छन् ग्रामिण विद्यालयहरु

सुर्खेत । नेपाल सरकारले असार एक गतेबाट सुरु गरेको भर्ना अभियान यता बजार क्षेत्र, अनलाईन माध्यामहरुको पहुँच हुने क्षेत्रहरुमा अनलाईन माध्यामबाट पठन पाठन भइरहेको छ । बजार क्षेत्रका सबैजसो विद्यार्थीहरु अनलाईन कक्षा पढीरहेका छन् । तर ग्रामिण क्षेत्रका अधिकांश विद्यालयहरु भर्ना अभियान सुरु गरेर पूर्ण रुपमा बन्द छन् । कोरोनाको जोखिम कायम नै रहेका कारणले विद्यालयहरु तत्काल नै सञ्चालन हुने अवस्थामा छैनन् । भने सबैजसो ग्रामिण भेगमा अनलाईनको पहुँच नपुगेका कारण पठन पाठन सुरु हुन नसकेको हो ।

सु्र्खेतको चौकुने गाउँपालिकामा असार यता भर्ना अभियान तिव्र गतिमा अघि बढाइए पनि हाल भने विद्यालय पूर्ण रुपमा बन्द छन् । ४९ वटा सरकारी तथा ४ वटा नीजि विद्यालय रहेको चौकुनेका सबै विद्यालयहरु पूर्ण रुपमा बन्द रहेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए ।

‘भर्ना अभियान सुरु गरेर विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरे पनि पढाउन सकिएको छैन,’ उनले भने, ‘कोरोनाको जोखिम कायमै रहेका कारण भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने अवस्था छैन भने ग्रामिण भेगमा अनलाईनको पहुँच छैन ।’ अनलाईनको विकास नभएका कारण विद्यार्थीहरु पढ्नबाट बन्चित भएको उनले बताए ।

विद्यालय सञ्चालनको लागि हाल सम्म केन्द्र सरकारबाट कुनै पनि निर्देशन नआएको भन्दै अध्यक्ष शाहीले भदौँबाट विद्यालय सञ्चालन गर्ने तयारी अघि बढाएको बताए । कोरोनाको जोखिम कम भएको अवस्थामा भदौँबाट विद्यालय सञ्चालन हुने उनले बताए ।

यता सुर्खेतकै पञ्चपुरी नगरपालिकामा विद्यालय खुल्ने कुनै निश्चित छैन । भर्ना अभियान पछि बन्द भएका विद्यालयहरु खोल्ने बिषयमा कुनै सुरसार नभएको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापा बताउँछन् । ‘हाल केहि एक, दुई वटा विद्यालयलय इन्टरनेट भएको क्षेत्रमा पढाएका होलान् नत्र सबै विद्यालयहरु पूर्ण रुपमा बन्द छन्,’ उनले भने, ‘अहिले विद्यालय के–कसरी सञ्चालन गर्ने भन्ने बिषयमा केहि पनि छलफल भएको छैन । केन्द्र सरकारबाट पनि केहि निर्देशन भएको छैन ।’

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा मात्रै नभएर कर्णाली प्रदेशका सबैजसो जिल्लाहरुका सबैजसो विद्यालयहरु पूर्ण रुपमा ठप्प छन् । विद्यार्थीहरुले गएको बैशाखयता विद्यालय जान पाएका छैनन् । दोस्रो लहरका कारण विद्यालय नराम्रो संग प्रभावित भएका छन् । ग्रामिण क्षेत्रमा अनलाईनको राम्रो पहुँच नहुँदा विद्यार्थीलाई अध्ययन गराउन नसकिएको दैलेखको श्री पञ्चदेवल मावी भैरवी गाउँपालिका–२ दैलेखका शिक्षक सोविन थापाले बताए ।

‘गाउँमा एक त अनलाईनको राम्रो पहुँच छैन अर्को कुरा विद्यार्थीहरु सबै संग मोवाईल, डाटा हुँदैन,’ उनले भने, ‘भए पनि सधै डाटा किनेर सम्भव छैन । सबैलाई यसको बिषयमा जानकारी पनि छैन । त्यसैले अध्ययन गराउन सक्ने अवस्था छैन ।’ असार एक गते यता भर्ना अभियान सुरु भएको विद्यालय पूर्ण रुपमा बन्द रहेको उनी बताउँछन् । हाल विद्यालय सञ्चालन गर्नेबारे कुनै पनि छलफल नभएको उनले बताए ।