२०८१, ७ बैशाख शुक्रबार

सत प्रतिशत बजेट खर्च गर्ने लक्ष्य, मुख्यमन्त्री र मन्त्री बिच कार्य सम्पादन सम्झौता

शुक्रबार कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पर्यटन मन्त्री नन्दसिंह बुढा । तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र अन्य मन्त्रीहरु बिच कार्य सम्पादन सम्झौता गरीएको छ । सत प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेशका मख्यमन्त्री र मन्त्रीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । आठ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा उपचारको क्रममा काठमाडौँ रहेका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्री बाहेक अन्य मन्त्रीहरुले करार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गत आर्थिक बर्ष २०७७/०७८ मा पनि कार्यसम्पादन करार सम्झौता गरेको प्रदेश सरकारले बजेट कार्यान्यनमा उल्लेखनिय सुधार ल्याएको भन्दै यो बर्ष पनि सम्झौता गरिएको बताएको छ । गत आर्थिक बर्षमा कोरोनाका कारण अपेक्षा गरीए भन्दा कम बजेट कार्यान्यन भए पनि अन्य बर्षहरु भन्दा बजेट खर्च वृद्धि भएको बताइएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा सत्र प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित कार्य सम्पादन सम्झौता गरेको छ । मुख्यमन्त्री संग कार्य सम्पादन सम्झौता गरेका मन्त्रीहरुलाई सचिव र सचिवहरुले अन्य कार्यालयका प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता गर्ने बताइएको छ । गएको आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले झण्डै ६५ प्रतिशत बजेट खर्च गरेको थियो ।

रोग र भोकमा बजेट केन्द्रीत –मुख्यमन्त्री शाही

मन्त्रीहरु संग कार्यसम्पादन सम्झौता गरे संगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो बर्षको बजेट रोग र भोक नियन्त्रणमा केन्द्रीत हुने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९)का दोस्रो लहरका कारण कर्णाली प्रदेश पनि नराम्रो संग प्रभावित भइरहेको अवस्थामा प्रदेश सरकारले कोरोना नियन्त्रणमा केन्द्रीत भएको बताएको छ । कोरोनाका कारण विदेशमा वा नेपालमा थुप्रै कर्णालीबासीले रोजगारी गुमाएका छन् उनीहरुको लागि बजेट केन्द्रीत गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए ।

‘हाम्रो बजेट रोग र भोग नियन्त्रण गर्नेमा केन्द्रीत हुनेछ,’ उनले भने, ‘चालु आर्थिक बर्षमा यो क्षेत्रमा सक्दो हामीले काम गर्ने छौँ । कोरोनाविरुद्धको खोप लगाउने, स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित गर्ने, प्रदेश सरकारबाट सुरु हुने कार्यक्रमहरु व्यवस्थित गरेर युवाहरुलाई समयमा नै रोजगार दिन हामी केन्द्रीत हुनेछौँ ।’ यस अघिका बर्षहरुमा पूर्वाधार निर्माण, विद्युत लगायतका कार्यहरुलाई प्रथामिकता दिएको सरकारले यो बर्ष कोरोना नियन्त्रणलाई प्रमुख प्रथामिकता दिएको बताए ।