२०८१, १५ बैशाख शनिबार

विश्वविद्यालयमा आन्दोलन जारी, सबै परीक्षा पुनः एक साताका लागि स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनका कारण विभिन्न संकायका परीक्षा प्रभावित भएका छन् । विद्यार्थीहरु तथा प्राध्यापकहरुको आन्दोलनका कारण विश्वविद्यालय करिव एक महिना देखि बन्द छ । विश्वविद्यालयले परीक्षाको मिति सार्वजनिक गरे संगै संयुक्त विद्यार्थी संघठनहरुले वैकल्पिक परीक्षा हुनुपर्ने, विद्यार्थीको फि मिनाह गर्नुपर्ने लगायतका १८ बुँदे मागहरु राखेर आन्दोलीत छन् ।

यस अघि आन्दोलनकै कारण साउन १२ तथा १८ गतेबाट सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार अर्को सूचना जारी गरी पुनः एक साताका लागि परीक्षा स्थगित गरेको छ ।

विद्यार्थी र विश्वविद्यालय बिचको वार्ता टुङ्गोमा नपुगुञ्जेल सम्म परीक्षा हुने अवस्था छैन । साउन ३ गतेबाट आन्दोलनमा होमीएका विद्यार्थी र विश्वविद्यालय प्रशासन बिच हाल सम्मका सबै वार्ता पूर्ण रुपमा असफल भएका छन् ।

विश्वविद्यालयले १२ गते देखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तह र १८ गतेबाट स्नातक तहको परीक्षा भौतिक उपस्थितिमा लिने गरी तालिका सार्वजनिक गरेको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमीएका हुन् ।

वार्ता सफल नहुञ्जेल सम्म परीक्षा नहुँने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको वार्ता समितिका संयोजक डा. लिलाधर तिवारीले समस्या समाधानको अन्तिम उपाए वार्ता र संवाद भएको बताए । ‘वार्ताको लागि हामी नियमित प¥यासरत छौँ,’ डा. तिवारीले भने, ‘वार्ता केहि सकारात्मक भए पनि पूर्ण रुपमा टुंङ्गो लागेको छैन । टुंङ्गो लागे पछि परीक्षा हुन्छ ।’

आन्दोलनको क्रममा यस अघि विद्यार्थीले उपकुलपतिको निजी निवासमा तोडफोड गरेका छन् भने उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको पुत्ला समेत दहन गरेका छन् ।

यता विद्यार्थीलाई आफुखुसी नम्बर दिएको भन्दै ब्रखास्तमा परेका उप–प्राध्यापक विश्वनाथ यादवको ब्रखास्तको निर्णय फिर्ता लिनुपर्ने लगायतका १५ बँदै मागहरु राख्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आन्दोलन जारी राखेको छ । भने विभिन्न १३ बुँदेमागहरु राख्दै प्रजान्तत्रवादी प्राध्यापक संकठनले विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।