२०८१, १६ बैशाख आईतवार

चामुण्डाविन्द्रासैनीमा बहिरंग उपचार केन्द्र स्थापना

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले बालबालिकामा हुने कृपोषणको उपचार गर्न बहिरंग उपचार केन्द्र स्थापना गरेको छ । आईतबार लयाटीविन्द्रासैनी स्वास्थ्य चौकीको आयोजना, यु.एस.ए.आई.डी. सुआहारा कार्यक्रमको आर्थिक सहयोग र एभरेष्ट क्वलको सहजिकरणमा भएको कार्यक्रमका बीच उपचार केन्द्रको उद्घाटन गरिएको छ । बहिरंग उपचार केन्द्र स्थापना भएसंगै बालबालिकाको कुपोषणको उपचार गर्न दैलेख सदरमुकाम जानुपर्ने छैन । कम तौल, पुड्कोपन, ख्याउटेपन लगायतका लक्ष्यण देखिएकालाई कुपोषण भएको मानिन्छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले कुपोषणबाट जोगाउन आयमुलक जंगल र सडक बनाउन कार्य अघि बढाईएको बताए । कुपोषण हुन नदिन नगरपालिकाले सडकमा दायाँ बाँया आयमुलक फलफलु लगाइएको उनले बताए । ‘आर्थिक रुपमा सम्पन्न व्यक्ति बजारमा खरिद गरेर खान सक्छ, आर्थिक रुपमा विपन्न व्यक्तिहरु पोषणयुक्त खान किनेर खान सक्दैन,’ उनले भने, ‘त्यसैले नगरपालिकाले आर्थिक विपन्न नागरिकहरुले पेटभरी पोषणयुक्त फलफुल खान पाओस भन्ने उद्देश्यका साथ आयमुलक सडक र जंगल बनाइएको छ ।’

पोषणका लागि नगरपालिकाले ‘आउ, खाउँ, लिएर जाऔ’ नारालाई अघि सारिएको उनले बताए । साथै नगरपालिकाले सबै वडा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरी जेष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको घरदैलो उपचार तथा परामर्श सेवा सुचारु गरेको जानकारी दिए ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले कुपोषणका कारणले कोही पनि दिदी बहिनीहरु दैेलेख सदरमुकाम जानु नपर्ने बताइन । उपचार केन्द्र स्थापना भएर मात्र हुदैन, गुणस्तरीय सेवा दिन आवश्यक रहेको उनले बताइन् ।

नगरपालिका–८ का वडा अध्यक्ष एवम् लयाटी विन्द्रासैनी स्वास्थ्य चौकीका अध्यक्ष वीरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष रंगबहादुर तामाङ, वडा नं. ३ का अध्यक्ष निरकबहादुर शाही, वडा नं. ९ का वडा अध्यक्ष नन्दप्रसाद न्यौपाने, नगर स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाही, सुआहारा जिल्ला कार्यक्रम संयोजक इन्द्र आउजी लगायतको उपस्थिति रहेको एभरेष्ट क्वल सुआहारा कार्यक्रम पालिका स्तरीय सहजकर्ता खड्कबहादुर विकले जानकारी दिए ।