राउटेको लागि एकीकृत नीति बनाउँदै कर्णाली सरकार
सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति बनाउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायको संस्कृति र परम्परालाई जगेर्ना र सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले नीति बनाउने तयारी गरेको हो ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए । ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो,’ सामाजिक विकास मन्त्री बुढाक्षत्रीले भने, ‘साउन देखि नीति अनुसार काम हुन्छ ।’
उनले राउटे समुदायको संस्कार र संस्कृति माथि बाह्य समुदायको हस्तक्षेप बढेको बताए । बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षा प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापन लगायत विषय नीतिभित्र समेटिन्छन्,’ उनले भने, राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरूको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ ।
पछिल्लो समय राउटे समुदायका दुई युवती माथि बाह्य समुदायका व्यक्तिहरूले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिको प्रवेश निषेध आवश्यक रहेको महसुस भएको उनले बताए ।
मन्त्री बुढाक्षत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरूको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरूको संरक्षण आवश्यक रहेको बताए । ‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति तयार गरिरहेका छौं ।’ राउटे नीतिमा समेट्नुपर्ने विषयबारे उनीहरूसँग छलफल पनि गरिने उनले बताए ।









