२०८२, १४ माघ बुधबार

निषेधाज्ञामा प्रशासनको छापा, म्याद गुज्रेको सामाग्री नष्ट

सुर्खेत । निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तिव्रता दिएको छ । कोरोना भाइरस कोभिड–१९ को माहामारीको समयमा बजार बन्द रहेको अवस्थामा हुने विभिन्न किसिमका बेतिथिहरुको अन्त्य गर्न अनुगमनलाई तिव्र्रता दिएको प्रशासनले बताएको छ ।

जस अन्तर्गत आईतबार वीरेन्द्रनगर–६ लक्ष्मी हल स्थित पसलहरुबाट म्याद गुज्रेको सामाग्री नष्ट गरेको छ । कोरोनाको दोस्रो लहर फैलिए संगै गएको बैशाख १४ गते रातीबाट वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ ।

जुन असार ७ गते सम्म आइपुग्दा पाचौँ पटक थपिएको छ । आईतबार प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामबहादुर बुढा, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेल, विरेन्द्रनगर नगरपालिकाको कार्यालय प्रतिनिधी खगेन्द्र आचार्य, नगर प्रहरी कार्यालय लगायतको टोलीले संयुक्त अनुगमन गर्दा मैदा, आटा, पानीपुरी, सुजी लगायतका म्याद गुज्रीएका सामाग्रीहरु नष्ट गरेको छ ।

अनुगमनका क्रममा ५० के.जी.को मैदा आठ बोरा, २० के.जी को मैदा १३ बोरा, पाँच के.जी. को आटा एक बोरा, पापट पानीपुरी बनाउने प्याकेट दुई थान र २० के.जी.को सुजी एक बोरा जफत गरेको प्रशासकिय अधिकृत बुढाले जानकारी दिए ।

पछिल्लो समय सुर्खेतमा कोरोनाको संक्रमणदर कम हुँदै गइरहेको अवस्थामा प्रशासनले शनिबार बाहेक बिहान ६ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गर्न अनुमति दिएको छ ।

अनुगमनको क्रममा म्याद नाघेको सामाग्रीहरु भेटिएको पसलमा पुनः दोहोरीएमा कारवाही गर्न दिर्नेशन दिएको छ । साथै स्वास्थ्य मापदण्डको पालना गरेर पसल सञ्चालन गर्न अनुरोध गरिएको छ । प्रशासनले यस अघि वीरेन्द्रनगर बाहेक सुर्खेतका अन्य विभिन्न क्षेत्रहरुमा पनि बजार अनुगमन गरेको थियो । जस क्रममा पनि थुप्रै म्याद नाघेका सामाग्रीहरु नष्ट गरेको थियो ।